Pura Samachar

एमसीसी पास गर्ने हो : प्रधानमन्त्री देउवा

प्रकाशित: October 22, 2021

एमसीसी पास गर्ने हो : प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) पास गर्ने बताएका छन्। प्रेस युनियन कैलालीले शुक्रवार बिहान धनगढीमा आयोजना गरेको प्रेस मिटलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्।

एमसीसी के हुन्छ प्रधानमन्त्रीज्यू? सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा देउवाले भने, ‘एमसीसी पास गर्ने हो।’

संशोधन हुन्छ कि हुबहु? भन्ने प्रश्नमा देउवाले अनुदानजस्तो कुरामा अलमल गर्न नहुने उल्लेख गरे। ‘वर्ल्ड बैंक छ नि। एडिबी छ। उनीहरुलाई नेपालको कानुन लागू हुँदैन। अन्तर्राष्ट्रिय कानुन लागू हुन्छ,’ उनले भने, ‘ तर एमसीसी त अनुदान हो। नेपालको कानुनभन्दा तल हो भनेर उनीहरुले भनिसके। अनुदानजस्तो कुरामा किन नलिने?’

प्रधानमन्त्री देउवाले वैशाखमा निर्वाचन हुने नहुने भन्नेबारे गठबन्धनसँग छलफल गरेरमात्र अघि बढ्न सकिने भनाई राखे। ‘वैशाखमा चै हाम्रो गठबन्धन छ। सल्लाह हुन्छ। म एक्लैले गर्ने कुरा छैन,’ देउवाले भने।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवालाई सञ्चारकर्मीले महाधिवेशनसम्बन्धी प्रश्नसमेत गरेका थिए।

कैलालीसहित केही जिल्लामा पार्टीको निर्वाचन हुन सकेको छैन भनी सोधिएको प्रश्नको जवाफमा देउवाले भने, ‘पार्टीको निर्वाचन? त्यो त निर्वाचन समितिलाई थाह हुन्छ। त्यो त मलाई थाह हुँदैन। पार्टीको निर्वाचन समितिलाई थाह हुन्छ।’

कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका पटकपटक सर्दै आएको छ। यसबारेको प्रश्नमा देउवाले निर्वाचन समितिकै भर पर्ने कुरा उल्लेख गरे। सम्बोधनका क्रममा देउवाले बाढीपहिरो पीडितलाई काठमाडौं फर्केपछि क्षति मुल्यांकन गरेर राहतको व्यवस्था गर्ने बताए। देउवा मन्त्रीहरुको टोली लिएर बिहीवार सुदूरपश्चिमको बाढीपहिरो ग्रस्त क्षेत्र निरीक्षणका लागि त्यसतर्फ प्रस्थान गरेका हुन्। उनी आजै काठमाडौं फर्कने कार्यक्रम रहेको छ।

प्रतिक्रिया