
नेकपा एमालेमा महाधिवेशनको रौनक बढे पनि नेपाली काँग्रेसमा भने महाधिवेशनको प्रक्रिया नै अवरुद्ध भएको छ । दुई वर्षदेखि महाधिवेशनको तयारीमा रहेको काँग्रेस कार्यतालिका हेरफेरमै रुमलिएको छ । ६४ जिल्लामा महाधिवेशनको प्रक्रिया सुरु भए पनि सहज रुपमा अगाडि बढ्न सकेको छैन ।
सप्तरी, सिराहा, सर्लाही, बारा, पर्सा, रौतहट, धनुषा, महोत्तरी, सुर्खेत, डोल्पा, कैलाली, रसुवा र बाँके गरी १३ जिल्लामा अझै वडा अधिवेशन हुन सकेको छैन । यीमध्ये रसुवा बारा र रौतहट क्रियाशील सदस्यता सूचीसमेत सार्वजनिक भएको छैन । यसले महाधिवेशनबारे अन्योल थपेपछि काँग्रेसका नेता–कार्यकर्ता बिलखबन्दमा परेका छन् ।
महाधिवेशन गराउनुपर्ने संवैधानिक सीमा पार भइसक्दा नेताहरु तैँ चुप, मै चुपको अवस्थामा छन् । वर्तमान केन्द्रीय कार्यसमिति नै महाधिवेशनको पक्षमा नदेखिएको आरोप लाग्न थालेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले कैलालीको कार्यक्रममा महाधिवेशन गर्ने कुरा आफ्नो हातमा नरहेको बताएका छन् । काँग्रेसको १४ औं महाधिवेशन गर्ने जिम्मेवारी पार्टीको निर्वाचन समितिको हातमा रहेको देउवाको भनाइ छ ।
१४ औं महाधिवेशन तोकिएकै मितिमा हुन्छ ? भनेर सोधिएको प्रश्नमा देउवाले भने, ‘राष्ट्रिय चुनाव गर्ने निर्वाचन आयोग भएजस्तै काँग्रेसको महाधिवेशन गर्न स्वतन्त्र निर्वाचन सिमित छ । पार्टीको निर्वाचन कमिटीले जे निर्णय गर्छ, त्यही हुन्छ ।’
प्रधानमन्त्री देउवाले निर्वाचनको प्रक्रिया सुरु भइसकेको भन्दै बाढी–पहिरो लगायतका कारण समस्या भएको बताए । दुई वर्षसम्म अधिवेशन गर्न नसकेपछि देउवाले यतिबेला बाढी पहिरोको तर्क झिकेका छन् । उता, वरिष्ठ नेता रामचन्द्र पौडेलले भने आफू सधैं महाधिवेशनको पक्षमा रहेको बताए । रातोपाटीसँग उनले भने, ‘क्रियाशील विवाद टुंग्याएर महाधिवेशन प्रक्रिया अगाडि बढाउने भनेको छ । केही दिनमै महाधिवेशनको प्रक्रिया सुचारु हुन्छ होला ।’
काँग्रेसले २०७७ फागुन ७ देखि १० सम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको थियो । कोरोना संक्रमण, क्रियाशील सदस्यता विवाद र अन्तर पार्टी समायोजन प्रक्रियामा कारण भदौ ७ देखि १० सम्मका लागि महाधिवेशन सारियो । तर, क्रियाशील सदस्यता विवाद र कोरोना महामारीलाई कारण देखाएर फेरि भदौ १६ देखि १९ सम्म गर्ने निर्णय भयो । क्रियाशील सदस्यताको विवाद सुल्झाउन नसकेपछि संविधानलाई नै चुनौती दिँदै मंसिर ९ देखि १३ सम्म सारिएको छ ।
नयाँ कार्यतालिका ल्याउन मुद्दा बाधक ?
अब फेरि मंसिर मसान्तसम्म सार्ने तयारी भइरहेको छ । महाधिवेशनको कार्यतालिका हेरफेर गर्नुपर्ने अवस्था आएको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले रातोपाटीलाई बताए । ‘दुई दिनमा सबै जिल्लाको क्रियाशील सदस्यता प्राप्त गर्छौँ । नयाँ तालिका बनाउने अवस्था छ । नेताहरुसँग अनौपचारिक छलफल गरेर नयाँ कार्यतालिका बनाउँछौं,’ उनले भने ।
अदालतको एउटा मुद्दाका कारण नयाँ कार्यतायिलका ल्याउन समस्या भएको उनको भनाइ छ । सिन्धुपाल्चोकमा शिक्षकहरु काँग्रेसको क्षेत्रीय प्रतिनिधि हुन नपाउने विषयमा अदालतले अन्तरिम आदेश दिएको छ । उक्त विषयमा छलफलका लागि सात गते बोलाएको यादवले जानकारी दिए । उनले भने, ‘अदालतको मुद्दा नपखौं भने समस्या हुन्छ । सिन्धुपाल्चोकको हकमा अन्तरिम आदेश जारी भइसकेको छ । तर, त्यसको असर सबै जिल्लामा पर्छ । त्यसले हामीलाई नयाँ कार्यतालिका बनाउन रोकेको छ ।’
सिंगो केन्द्रीय समिति महाधिवेशनको खिलापमा ?
केन्द्रीय कार्यसमिति बाहिर रहेका युवा नेताहरुले भने महाधिवेशन फेरि सार्ने तयारी भइरहेकोप्रति आपत्ति जनाएका छन् । नेता रञ्जित कर्णले समयमा महाधिवेशन नहुनुमा सिंगो केन्द्रीय कार्यसमिति जिम्मेवार रहेको बताए । ‘वर्तमान केन्द्रीय कमिटीको वैधानिक र संवैधानिक म्याद पनि सकिसकेको छ । यो अवैधानिक केन्द्रीय कार्यसमिति हो,’ उनले रातोपाटीसँग भने, ‘साम, दाम र षड्यन्त्र पूर्वक विभिन्न छिद्र खोजेर वैधानिक देखाउने काम भएको छ । यसमा सिंगो केन्द्रीय कार्यसमिति जिम्मेवार छ ।’
पार्टीको विधान र नेपालको संविधानप्रति इमान्दार केन्द्रीय सदस्यले पदबाट राजीनामा दिनुपर्ने उनको माग छ । ‘पार्टीको विधान र नेपालको संविधानप्रति इमान्दार हो भने आफूलाई नयाँ पुस्ता आँक्नेहरुले केन्द्रीय कार्यसमितिबाट राजीनामा दिनुपर्छ’ कर्ण भन्छन्, ‘महाधिवेशन गराउन नसक्ने, नेतृत्वमाथि हस्तक्षेप गर्न नसक्ने, एउटा बैठक पनि बहिस्कार गर्न नसक्ने, एउटा नोट अफ डिसेन्ट लेख्न नसक्ने ? बाहिर भाषणा मात्र ठूला गर्ने ?,’ कर्णको प्रश्न छ ।
काँग्रेसजस्तो लोकतान्त्रिक पार्टीको सिंगो केन्द्रीय कमिटी अवैधानिक हुनमा सिंगो केन्द्रीय कमिटीको मिलोमतो रहेको उनको आरोप छ । ‘लोकतन्त्रका लागि जन्मिएको पार्टी होइन नेपाली काँग्रेस ? सिंगो केन्द्रीय कार्यसमिति अवैधानिक भइसक्यो । अब राजीनामा नदिएर बाहिर मिडियामा बोल्नुको कुनै अर्थ छैन,’ कर्णले भन्छन्, ‘महाधिवेशन गराउने विषयमा नेतृत्वलाई दबाव पटक्कै पुगेको छैन । सिंगो केन्द्रीय कार्यसमिति नै महाधिवेशन नगराउने मिलोमतोमा छ ।’
महाधिवेशन गराउन दबाव दिन आफू आन्दोलनका कार्यक्रम ल्याउन लागेको पनि कर्णले बताए । यस्तै काँग्रेसका युवा नेता नैनसिंह महरले काँग्रेसको चरित्र नै गुम्ने खतरा बढेको बताए । उनले भने, ‘काँग्रेसले आफ्नो विधान र मुलुकको संविधानअनुसार पनि जाने कुरालाई पनि ख्याल गरेन । यसबाट काँग्रेस आफ्नो वास्तविक चरित्र गुम्ने खतरा बढ्यो । यो कुरा पार्टी नेतृत्वले बुझ्न जरुरी छ ।’
प्रतिक्रिया