काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ ।
भारी वर्षाको सम्भावना रहेका बाहेका स्थानमा सामान्य बदली रही केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।
भारी वर्षाको सम्भावना रहेका स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
मनसुन सक्रिय रहेकाले बाढी, पहिरो तथा डुबानको सम्भावना रहे पनि अघिल्ला दिनहरुको तुलनामा केही कम हुने मौसम विद् विभूती पोखरेल बताउँछिन् । उनका अनुसार साँझपख मनसुन तुलनात्मक रुपमा धेरै सक्रिय हुनेछ । यद्यपि हिजो अस्तिको जस्तो ठूलो वर्षा आज नहुने उनको भनाइ छ ।
“आज काठमाडौं उपत्यकामा अपरान्ह पछि वर्षा हुने सम्भावना छ । तर अघिल्ला दिनहरुको जस्तो बाढी आउने र डुबान हुने तहको वर्षा भने आज काठमाडौंमा हुने छैन,” उनले भनिन्, “तर भारी वर्षाको सम्भावना रहेको क्षेत्रमा भने बाढी पहिरोको सम्भावना रहेकाले सतर्क रहनुपर्ने छ ।”
उनले लगातारको पानीले माटो गलेका कारण घाम लागेको अवस्थामा पनि पहिरो जानसक्ने भन्दै पहाडी र तथा हिमाली क्षेत्रमा नागरिक चनाखो रहनु पर्ने मौसमविद् पोखरेल बताउँछिन् ।
प्रतिक्रिया