
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले न्यायालयमा भइरहेको गतिरोध अन्त्यका लागि नेताहरूले चाँडो समाधान दिनुपर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेस सुनसरी(काठमाडौं सम्पर्क समितिले दिपावली तथा छठ पर्वको अवसरमा शनिबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पूर्वमहामन्त्री सिंहले न्यायालयमा हुन नहुने घटना भइरहेको र जिम्मेवार नेताहरूले यसमा सकेसम्म चाँडो समाधन दिनुपर्ने बताउनुभयो ।
कार्यपालिका र न्यायपालिका संविधानको मर्म अनुसार चेक एन्ड ब्यालेन्स सिस्टममा चल्नुपर्ने उहाँले बताउनुभयो । न्यायपालिकाले कार्यापालिकालाई प्रभावित पार्ने, कार्यपालिकाले न्यायपालिकामाथि हस्तक्षप गर्दा व्यवस्थामा खतरा हुने उहाँको भनाइ छ । संविधानअनुसार जिम्मेवारी बहनमा कमी आएकाले समस्या भएको बताउदै उहाँले संविधानको भावना र मर्म अनुसार चल्नुपर्नेमा जोड दिनुभयो ।
स्वार्थका लागि विधि र प्रक्रिया थन्काएर जे पनि गर्दा हुन्छ भन्ने प्रवृत्तिमा अगाडि बढेमा सिस्टम खलबल हुने उहाँको भनाइ थियो ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको आचरण र गतिविधिमाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतकै न्यायाधीश र नेपाल बार एसोसिएसनले राजीनामा माग गरिसकेका छन् ।
प्रतिक्रिया