
काठमाडौं । सर्वोच्च अदालतका आन्दोलनरत न्यायाधीशहरुको विरुद्ध सर्वोच्च परिषरमै काउन्टर धर्ना दिइएको छ ।
आन्दोलनरत न्यायाधीशहरुलाई काममा फर्किन दबाब दिँदै वकिलहरूको एक समूहले सर्वोच्चमा काउन्टर प्रदर्शन गरेका हुन् ।
नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै कालो पट्टि बाँधेर सर्वोच्च अदालतमा धर्ना दिएका छन् ।
प्रधानन्यायाधीश जबराका भाइ प्रभु शमशेरको कानुनी सल्लाहकार आकृति रायमाझीको संयोजनमा केही वकिलहरुले काउन्टर धर्ना दिएका हुन् ।
न्यायालय सुधारका लागि भन्दै नेपाल बार एसोसिएसनले पूर्वघोषित आन्दोलनका कार्यक्रम अन्तर्गत सर्वोच्च अदालतमा एक घण्टे धर्ना दिएका छन् ।
बारको धर्ना सुरु भएलगत्तै वकिलहरूको अर्को समूहले काउन्टर धर्ना दिएको हो । प्रधानन्यायाधीशको पक्षधर वकिलहरूको अर्को समूहले भने सेतोपट्टी बाँधेर प्रदर्शन गरेको हो । पक्ष र विपक्षमा प्रदर्शन हुन थालेपछि सर्वोच्च परिषरमै पुनः मुठभेडको खतरा बढेको भन्दै सुरक्षा व्यवस्थापनमा निकै कडाइ गरिएको छ ।
तिहार बिदासम्म पनि राजीनामा नआए थप आन्दोलनका कार्यक्रम घोषणा हुने बारले चेतावनी दिएको छ । प्रधानन्यायाधीश राणाले भने आफूलाई संवैधानिक तवरबाट हटाउन चुनौती दिएका छन् ।
प्रतिक्रिया