
बुटवल । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गर्नुभएको छ ।
बिहान साढे १० बजे नेपाली सेनाको हेलिकोप्टरबाट सिधै लुम्बिनी ओर्लनुभएका राष्ट्रपति भण्डारीले मायादेवी मन्दिरका साथै लुम्बिनीका विभिन्न क्षेत्रको अवलोकन गर्नुभएको छ ।
राष्ट्रपति भण्डारी पोखराबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत लुम्बिनी पुग्नुभएको हो । राष्ट्रपति भण्डारीले लुम्बिनीमा निर्मित बज्रयान बिहार उदघाटन गर्नुका साथै पूजा समेत गर्नुभएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताउनुभयो ।
त्यसपछि राष्ट्रपतिले मायादेवी मन्दिर दर्शन र लुम्बिनी विकास कोषको गुरूयोजनाको प्रगतिबारे जानकारी लिनुभएको थियो । राष्ट्रपति भण्डारीलाई लुम्बिनी विकासको गुरूयोजनाको हालसम्मको प्रगतिबारे कोषका उपाध्यक्ष अवधेश त्रिपाठी, सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई लगायतले जानकारी गराएका थिए ।
त्यसलगत्तै लुम्बिनीमै बनेको अन्तर्राष्ट्रिय सभा हलको समेत अवलोकन गर्नुभएको सदस्य सचिव शाक्यले बताउनुभयो । त्यस्तै, नेपाल मण्डल स्वागतद्वारको निरीक्षण गर्नुका साथै शान्तिद्वीपबाट मायादेवी मन्दिरसम्म पैदलयात्रा गरेको र लुम्बिनी बौद्ध विश्वविद्यालयका बारेमा पनि जानकारी लिएको सदस्य सचिव शाक्यले जानकारी दिनुभयो ।
प्रतिक्रिया