
काठमाडौं । कर्णाली प्रदेश सरकारका तीन जना मन्त्रीको पद आजबाट सकिँदै छ।
सांसद नरहेका तीन मन्त्रीको पद आज सकिन लागेको हो ।
भौतिक पूर्वाधार मन्त्री अम्मरबहादुर थापा, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीको पद आज सकिन लागेको हो। तीनैजना नेकपा (एकीकृत समाजवादी) का नेता हुन्
तत्कालीन समयमा नेकपा एमालेमा रहेका उनीहरुले फ्लोर क्रस गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि एमालेले उनीहरुलाई कारबाही गरी सांसद पदमुक्त गरेको थियो।
वैशाख २ गते फ्लोर क्रस गरेका उनीहरुलाई मुख्यमन्त्री शाहीले वैशाख ४ गते मन्त्रीमा नियुक्त गर्नुभएको थियो ।
यसैबीच नेकपा एकीकृत समाजवादीले कर्णाली प्रदेश सरकारमा तीन नयाँ मन्त्री पठाउने निर्णय गरेको छ ।
आइतबार बसेको एकीकृत समाजवादी प्रदेश कमिटीको बैठकले आफ्नो पार्टीका तीन मन्त्रीको बहिर्गमनसँगै सो ठाउँमा आफ्नै पार्टीका तीन जनालाई पठाउने निर्णय गरेको हो ।
सोमबार स्वतः पदमुक्त हुने तीन मन्त्रीको ठाउँमा तीन सांसदहरु देवी ओली, पदमबहादुर रोकाया र चन्द्रबहादुर शाहीलाई पठाउने निर्णय समाजवादीले गरेको हो ।
कुन मन्त्रालयमा कसलाई पठाउने भन्ने कुरा भने फाइनल भएको छैन ।
प्रतिक्रिया