Pura Samachar
  • इंग्ल्यान्ड टी-२० विश्वकपको सेमिफाइनलमा

    प्रकाशित: कार्तिक १६, २०७८

    इंग्ल्यान्ड टी-२० विश्वकपको सेमिफाइनलमा

    इंग्ल्यान्ड टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सुपर १२ अन्तर्गत समूह १ को खेलमा लगातार चौथो जित निकाल्दै इंग्ल्यान्ड अन्तिम चारमा पुगेको हो।

    इंग्ल्यान्डले सोमबार राति सारजाहमा भएको आफ्नो चौथो खेलमा श्रीलंकालाई २६ रनले पराजित गर्‍यो।

    पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ४ विकेटको क्षतिमा १६३ रन जोड्यो।

    इंग्ल्यान्डका लागि जोश बटलरले शतक प्रहार गरे। उनले नटआउट १०१ रन जोडे। बटलरले ६७ बलमा खेल्दा समान ६ चौका र ६ छक्का हिर्काए। इयान मोर्गानले ४० रनको योगदान दिए।

    बलिङमा श्रीलंकाका हर्षरंगा डि सिल्भाले ३ विकेट लिए।

     

    १६४ रनको लक्ष्य पछ्याएको श्रीलंका १९ ओभरमा १३७ रनमै अलआउट भयो। श्रीलंकाका लागि हर्षरंगाले नै सर्वाधिक रन जोड्ने क्रममा ३४ रन जोडे।

    बलिङमा इंग्ल्यान्डका मोइन अली, अदिल रासिद र क्रिस जोर्डनले २-२ विकेट लिए।

    जितसँगै इंग्ल्यान्डले समूह १ मा ४ खेलबाट ८ अंक जोडेको छ।  दोस्रो स्थानको दक्षिण अफ्रिका र तेस्रो स्थानको अस्ट्रेलियाको ३ खेलबाट समान ४-४ अंक छ। श्रीलंकाले भने ४ खेलबाट २ अंक मात्र जोड्न सकेको छ। श्रीलंका अंक तालिकामा चौथो स्थानमा छ।

    प्रतिक्रिया