Pura Samachar

प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग दर्ता गराउने कुनै तयारी छैन

प्रकाशित: November 4, 2021

प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग दर्ता गराउने कुनै तयारी छैन

नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आफ्नो पार्टीले महाभियोग दर्ता गराउने कुनै तयारी नगरेको स्पष्ट पारेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । कुराकानीको क्रममा उनले भने–‘यस्तो कुनै पनि तयारी छैन् । मलाई लाग्छ–यो बजार हल्लामात्र हो । यस विषयमा कुनै छलफल भएको छैन् । हाम्रो प्रधानमन्त्रीज्यू पनि विदेशमा हुनुहुन्थ्यो । आज मात्र स्वदेश फर्किनुभएको छ । यस विषयमा पदाधिकारीका बीचमा वा नेपाली काँग्रेस पार्टीको केन्द्रीय कार्यसमितिको बिचमा र पार्टी बृत्तमा छलफल भएको छ जस्तो मलाई लाग्दैन् ।’

नेपाली काँग्रेसले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग दर्ता गराउने तयारी गर्दैछ भन्ने कुरा आएको छ, प्रधानमन्त्री पनि फर्किसक्नुभयो आज तपाईंहरुले महाभियोगको प्रस्ताव दर्ता गराउँदै हुनुहुन्छ ?

यस्तो कुनै पनि तयारी छैन् । मलाई लाग्छ–यो बजार हल्लामात्र हो । यस विषयमा कुनै छलफल भएको छैन् । हाम्रो प्रधानमन्त्री ज्यू पनि विदेशमा हुनुहुन्थ्यो । आज मात्र स्वदेश फर्किनुभएको छ । यस विषयमा पदाधिकारीका बिचमा वा नेपाली काँग्रेस पार्टीको केन्द्रीय कार्यसमितिको बिचमा र पार्टी बृत्तमा छलफल भएको छ जस्तो मलाई लाग्दैन् ।

उसोभए नेपाली काँग्रेस प्रधानन्यायाधीशको विरुद्धमा छैन् ?

होइन्, पक्षमा छ अथवा छैन् भन्दापनि हामीले निरन्तर र बारम्बार भनिरहेको कुरा के हो भने–यो पहिलो कुरा त न्यायापालिकाभित्रको समस्या हो । न्यायापालिकाभित्र पनि प्रधानन्यायाधीशको व्यक्तिगत कार्यशैलीको बारेमा उठेका प्रश्नसँग सम्बन्धित् रहेको कारणले प्रधानन्यायाधीश र न्यायापालिका परिवारभित्रबाट नै यस समस्याको समाधान अथवा निकाश खोजियोस र यो विवादको निराकरण गरियोस भन्ने नेपाली काँग्रेसले निरन्तर प्रस्तुत गरेको धारणा हो । अब यसलाई बाहिर छताछुल्ल रुपमा कार्यपालिका, व्यवस्थापिका र राजनीतिक दलसम्म ल्याइपुर्याउनु हुँदैन् । यसले गलत परम्परा बसाल्छ । त्यसकारणले गर्दा न्यायापालिकाभित्र रहेका समस्या समाधान गर्दा राजनीतिक दलहरुसँग जोडिनु उपयुक्त हुँदैन भन्ने हाम्रो धारणा हो ।

त्यसोभए, अदालतले नै यो समस्याको समाधान गर्नुपर्छ भन्ने नेपाली काँग्रेसको भनाई हो ?

हो, हाम्रो धारणा यही हो । पहिलो कुरा त यो समस्या समाधान होस । दोस्रो कुरा, न्यायापालिकामा भएको अबरोध र आन्दोलनले धेरै नागरिकहरुका मुद्दा अन्योलमा परे । साथै आम नागरिकको मानवअधिकार हनन भयो । तेस्रो कुरा, सम्पूर्ण समस्याको समाधान र निकाशको जिम्मेवार पनि न्यायापालिका स्वयंम भएको हुनाले यसको समाधान त्यहीँ भित्रबाट खोजिनुपर्छ । चौथो कुरा, गलत नजिर बस्ने काम कसैले पनि गर्नुहुँदैन् । पाँचौं कुरा जबसम्म संविधानमा गम्भिर आघात पर्छ अथवा राष्ट्रिय राजनीतिमा यसले प्रभाव पार्छ भने त्योबेला मात्र राजनीतिक दलहरु एक ठाउँ बसेर निकाश निकाल्नुपर्छ । तर, अहिले के हो भने यसको समाधान न्यायापलिका आँफैले खोजोस भन्ने नेपाली काँग्रेसको धारणा हो ।

तर, नेपाल बारले प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म कुनैपनि हालतमा सम्झौता नगर्ने भन्दै सबै दलले साथ दिनपर्छ भनेको छ, यस विषयमा तपाईंको धारणा के छ ?

कार्यपालिका, व्यवस्थापिका र न्यायापालिकाबीचको सन्तुलन कायम गरेर नै शक्ति पृथकीकरणको सिद्धान्तलाई कार्यान्वयन गर्ने हो । लोकतन्त्रको मुख्य आधार भनेकै शक्ति पृथकीकरण हो । त्यसोभएको हुँदा कार्यपालिका र व्यवस्थापिका नै पहिले अग्रसर भएर जाने हो । त्यो भन्दा बढि राजनीतिक दलनै क्रियाशिल हुने हो भन्ने कुराले न्यायापालिकाको भोलिको दिनमा हुने कुरालाई अनुमान गरेर अगाडि बढ्नुपर्छ । त्यसोभएको हुनाले बार र बेन्च बीचको सम्बन्ध र न्यायापालिकाभित्रको सबै समूह र शक्तिलाई एक ठाउँमा राखेर सम्माननीय प्रधानन्यायाधीशले अथवा न्यायाधीशहरुले यसको जिम्मेवारी लिनुपर्छ । उहाँहरु तटस्थ हो, कुनै राजनीतिक दलहरुसँग जोडिएर वा कुनै दलसँग टाढा भएर काम गर्ने परम्मरालाई अन्त्य गर्नुपर्छ । अहिले आरोप लागिरहेको छ । राजनीतिक दलसँग जोडिएका न्यायाधीशअहरुले यसो गरे भनेर । नियुक्ती गर्यो भनेर आरोप पनि लगाउने अनि फेरि न्यायापालिकाको समस्यामा आह्वान गरेर फलानो दल आउ भन्नु अर्को त्रुटी हुन्छ । त्यसैले हामीले नजिकबाट नियालिरहेका छौं, यसको समाधान न्यायापालिका आफंैले चाँडोभन्दा चाँडो खोज्छ भन्ने मलाई विश्वास छ ।

प्रधानमन्त्री आइसक्नुभएको छ, अब गठबन्धनको बैठक बसेर अदालतभित्रको समस्या समाधानको लागि छलफल गर्नुहुन्छ त ?

गठबन्धनभित्र छलफल हुन्छ–त्यो स्वभाविक हो । किनभने गठबन्धनले सरकार सञ्चालन गरेको छ । व्यवस्थापिकामा गठबन्धनको बहुमत छ । त्यसो भएको हुँदा यो समस्या केही होइन् भनेर हेर्दै नहेर्ने भन्ने पटक्कै होइन् । यो गम्भिर मुद्दा हो । यसलाई दलहरुले नोटिसमा राखेका छन् । समस्या परेपछि छलफल गर्नुपर्छ । तर, महाभियोग भनेको अन्तिम अस्त्र हो । त्यसो भएको हुनाले त्यसो अवस्थामा नपुगेरै समस्याको समाधान होस भन्ने हाम्रो प्रयास छ, कामना पनि छ र हामी त्यही चाहन्छौं ।

नेपाली काँग्रेसको महाधिवेशन समयमा हुन्छ त ?

होइन्, हामीसँग विकल्प नै छैन् । हामीसँग महाधिवेशन नगर्ने भन्ने व्यवस्था कहीँपनि छैन् । महाधिवेशन गर्नैपर्ने व्यवस्था छ । गर्नुपर्ने महाधिवेशन ढिलो भइसकेको छ । हिजो/अस्ति विधान र संविधानमात्रै उल्लंघन हुन्छ कि भन्ने थियो भने अब त अब आम चुनावको बेलामा पनि हामीलाई दोहोरो कामको चटारो पर्छ । पार्टीको आन्तरिक काम गर्ने कि आम चुनावमा सहभागी हुने ? त्यसैले छिटोभन्दा छिटो हामीले सबै तहका महाधिवेशन सकेर निर्वाचनको लागि सशक्त र एकीकृत रुपमा तयार भएर अगाडि बढ्नुपर्ने बाध्यता छ । त्यसोभएको हुँदा यस विषयमा शंका÷उपशंका र अन्योल देखाउनुभन्दा पनि जो÷जहाँ हुनुहुन्छ त्यही तहबाट लाग्नु उपयुक्त हुन्छ ।

तपाईंले यसपटकको महाधिवेशनमा कुनै पदमा उम्मेद्धवारी नदिने घोषणा गर्नुभएको हो ?

त्यसो त कस्ले भनेको छ र ? त्यस्तो कुरा होइन् । मूल कुरा के हो नेपाली काँग्रेसमा धेरै सभापतिका उम्मेद्धवार देखिनु भनेको पार्टीप्रतिको आकर्षण हो । यो पार्टीको एउटा उपलब्धि पनि हो । सँगै, नेपाली काँग्रेसको महाधिवेशनमा १८ वर्षदेखि २५ वर्षसम्मका युवा नेताहरुको ठुलो प्रवेश रहेको छ । सदस्यमा मात्र होइन् नेतृत्वमा पनि हुनुहुन्छ । त्यसैले नेपाली काँग्रेसमा पुस्तान्तरण र रुपान्तरण दुबै हुँदैछ । साथै, पार्टी नविकरण पनि हुँदैछ । त्यसैले यो पार्टीको नेतृत्वमा आउनको लागि सबैको इच्छा हुन्छ । मेरो इच्छा भनेको सामान्य प्रक्रियाबाट अगाडि बढ्ने हो । उत्ताउलो छलाङ मार्नेगरि हुँदैन् । म दुई कार्यकाल नेपाली काँग्रेसको केन्द्रीय सदस्य भइसकें । स्वभाविक रुपले अब पार्टीको विधानबमोजिमको पदाधिकारी पदमा म अहिले पनि इच्छा व्यक्त गर्दैछु । तर, अहिले त्यो समय नभएको हुनाले सार्वजनिक गरेको छैन् ।

उसोभए तपाईंले सह–महामन्त्रीमा उम्मेद्धवारी दिने हो त ?

स्वभाविक तहले एक तह माथि गएर काम गर्ने इच्छा हुँदा मेरा अग्रज नेताहरुले दिएको सुझावले मैले तपाईंले अहिले भनेको पदमा उम्मेद्धवारी दिने ठानेको छु ।

प्रतिक्रिया