Pura Samachar

सहिष्णुता र एकताको प्रवर्द्धन गर्ने उत्सवको रूपमा नेपाल संवत मनाउन राष्ट्रपति भण्डारीको आह्वान

प्रकाशित: November 5, 2021

सहिष्णुता र एकताको प्रवर्द्धन गर्ने उत्सवको रूपमा नेपाल संवत मनाउन राष्ट्रपति भण्डारीको आह्वान

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संवत नेपालको मौलिक राष्ट्रिय संवत भएको बताउनुभएको छ ।

नेपाल संवत ११४२ को शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले चन्द्रमास गणना गरेर तय गरिने भएकोले यो हाम्रो मौलिक राष्ट्रिय संवत भएको औंल्याउनुभएको छ ।

उहाँले नेपाल संवत ११४२ प्रारम्भ भएको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

‘लिच्छविराजा राघवदेवको समयमा काठमाडौँ उपत्यकामा रहेका किसान तथा गरीब जनतालाई ऋणमुक्त गरी शंखधर साख्वाःले यस संवतलाई प्रचलनमा ल्याएको मानिन्छ। यसबाट उनले कृषिलाई प्राथमिकता दिएको कुरा समेत स्पष्ट हुन्छ’, राष्ट्रपतिले शुभकामना सन्देशमा भन्नुभएको छ, ‘राष्ट्रिय विभूति साख्वाःको लोककल्याण एवं परोपकारी कार्यको स्मरण गर्दै निःस्वार्थ भावले समाजको हित‚ उन्नति र प्रगतिका लागि क्रियाशील रहन हामी सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दछु।’

आदिकालदेखि नै नेपाली समाज सभ्य र सहिष्णु रहिआएको उहाँले उल्लेख गर्नुभएको छ । ‘हाम्रा चाडपर्व र यस खालका असल परम्पराहरूले यसलाई थप सुदृढ बनाउँदै लगेका छन् ।’

राष्ट्रपति भण्डारीले सांस्कृतिक एवं भाषिक रूपमा विविधतायुक्त नेपाली समाजमा सहिष्णुता र एकताको प्रवर्द्धन गर्ने उत्सवको रूपमा नेपाल संवत मनाउन सबैमा आह्वान समेत गर्नुभएको छ ।

प्रतिक्रिया