
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संवतकाे प्रचलनसँगै गरिबी उन्मूलनको अभियान शुरु भएको बताउनुभएकाे छ ।
नेपाल संवत् ११४२ को अवसरमा राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले आज (शुक्रवार) मध्यपुरथिमि शङ्खधर चोकमा आयोजना गरेको कार्यक्रममा उहाँले नेपाल संवत् नेपालको मौलिक संवत् भएकाले यसलाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिनुभयाे ।
समाजमा शान्ति स्थापना, नेपाली जनताको स्वतन्त्रता र स्वाभिमान बढाउन साख्वाःले योगदान गर्दै राष्ट्रको गौरव बढाएकाले उनलाई राष्ट्रिय विभूति घोषणा गरिएको प्रधानमन्त्री देउवाले बताउनुभयाे।
राष्ट्रिय विभूति शङ्खधर साख्वाःले ऋणमा डुबेका नेपाली जनतालाई ऋण र दासत्वबाट मुक्त गराई स्वाभिमान र स्वतन्त्रतापूर्वक बाँच्ने अवस्थामा पुर्याएको उहाँले चर्चा गर्नुभयाे।
प्रधानमन्त्री देउवाले नेपालमा रहेका विविध धर्म संस्कृतिले राष्ट्रिय एकतालाई बलियो बनाउँदै नेपालीलाई एकताबद्ध हुन प्रेरणा प्रदान गर्ने बताउनुभयाे। कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपाल संवत् एप र नेपाल संवतकाे पात्रो सार्वजनिक गर्नुभएकाे थियाे। सो अवसरमा उहाँले साख्वाःको शालिकमा माल्यार्पण गर्नुभएकाे थियाे ।
प्रतिक्रिया