Pura Samachar

सडकमा मात्र होइन , अब मापासे गर्ने ठाउँमा पनि ट्राफिक प्रहरीको निगरानी

प्रकाशित: July 23, 2020

सडकमा मात्र होइन , अब मापासे गर्ने ठाउँमा पनि ट्राफिक प्रहरीको निगरानी

काठमाडौं : सरकारले बुधवारबाट लकडाउन खुल्ला भएको घोषणा गरेको छ।

लकडाउन खुलेसँगै काठमाडौं उपत्यकाभित्रका सडका सवारीको सङ्ख्या हत्वातै बढेको छ। यसरी सवारीको चाप बढ्दा सडकमा खटिने ट्राफिक प्रहरीलाई समेत व्यवस्थापन गर्न थप सक्रियता बढाउनु पर्ने भएको छ।

१ सय २० दिनसम्म जारी लकडाउनमा मापसे, लेन क्रस, तीब्र गति जस्ता सडक नियमलाई कम ध्यान दिएको ट्राफिक प्रहरीले बुधवारबाट भने थप कडाइ गरेको जानकारी दिएको छ। त्यस्तै, मादक पदार्थ सेवन गरेर सवारी चलाए, नचलाएको चेकिङ समेत नगरेको प्रहरीले बुधवारबाट भने चेकिङ सुरु गरेको छ। तर, ब्रेथलाइजरबाट नभई शंका लागेमा मात्र चेकिङ गर्न थालेको छ। त्यस भन्दा पनि ट्राफिक प्रहरीले मापसे गर्ने क्षेत्रमा निगरानी बढाउने र मापसे गरी चलाएको भेटिएमा कारबाही गर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी बामदेव गौतमले जानकारी दिए।

प्रहरीका अनुसार ब्रेथलाइजरको प्रयोग नगरी चालकले चलाउने तरिका, बोलीवचन हेर्ने तथा सर्वसाधारणबाट सूचना लिई कारबाही गरिने जनाएको छ। यदि कसैप्रति शंका लागेमा अस्पताल लगेर समेत मापसे गरे नगरेको परीक्षण गरिने प्रहरीको दावी छ ।

बधुवारदेखि सार्वजनिक सवारीमा सामाजिक दूरी कायम गरे/नगरेको,चालक र यात्रुले मास्क लगाएको/नलगाएको, तोकिएको भाडादर लिए/नलिएको, ५० प्रतिशतमात्र यात्रु राखे/नराखेको अनुगमन गर्ने र नियमानुसार नभए कारबाही गर्ने महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक भीमप्रसाद ढकालले बताए।

‘उपत्यकाका २९ स्थानमा चेकप्वाइन्टका साथै बसपार्क, बसविसौनी र विशेषगरी गुडिरहेको सार्वजनिक सवारीलाई विशेष अनुमगन गर्नेछ,’ उनले भने, ‘हिजोमात्रै स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य प्रोटोकल अनुसार नचलाइएका ८ सय ७२ वटा सार्वजनिक सवारी साधनलाई सम्झाइ बुझाई गरेका छौं।’

त्यस्तै, लकडाउन शुरु भएदेखि महाशाखाले ट्राफिक नियम उल्लघंन गर्नेलाई गरिने कारबाही बन्द गरेको थियो। लेन पालना नगर्ने, एकतर्फी बाटोमा सवारी साधन चलाउने, अनाधिकृत पार्किङ गर्ने, तीव्र गतिमा कुदाउने, हर्न बजाउने, सवारी साधनको स्वरुप बिगारेर चलाउनेजस्ता ट्राफिक नियम उल्लङ्घन गर्ने उपर पनि आज बुधवारदेखि कारबाही सुरु गरेको महाशाखाका प्रवक्ता वामदेव गौतमले बताए।

‘आजमात्रै ट्राफिक नियम उल्लघंन गर्ने २ सय ६३ जना चालकलाई कारबाही गरेका छौं,’ उनले भने।

प्रतिक्रिया