
एजेन्सी । प्रिमियर लिग च्याम्पियन लिभरपुललाई पराजित गर्दै आर्सनलले कम्युनिटी सिल्ड फुटबलको उपाधि जितेको छ । वेम्बली स्टेडियममा शनिबार राति भएको फाइनलमा पेनाल्टी सुटआउटमा लिभरपुललाई ५-४ गोलले पराजित गर्दै आर्सनलले उपाधि जितेको हो ।
निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउट पुगेको थियो । पेनाल्टीमा भने आर्सनलले बाजी मार्यो ।
खेलमा सुरुवाती अग्रता भने आर्सनलले लिएको थियो । खेलको १२औं मिनेटमा आबुमियाङको गोलबाट अग्रता लिएको आर्सनलले सुरुवाती अग्रता जोगाउन नसक्दा खेल पेनाल्टीमा पुगेको हो । ७३औं मिनेटमा लिभरपुलका मिनामिनोले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।
त्यसपछि पेनाल्टीमा आर्सनलका रेइस नेल्सन, एन्सले मेटल्यान्ड नाइल्स, सेड्रिक सोएरस, डेभिड लुइज र पेरिक एम्रिक आबुमियाङले गोल गरेका थिए । त्यस्तै लिभरपुलका मोहमद सलाह, फाबिन्हो, ताकुमी मिनामिनो र कुर्टिस जोन्सले गोल गर्दा रिहन ब्रेउस्टरले गोल गर्न सकेनन् ।
यो जितसँगै आर्सनलले १६औं पटक कम्युनिटी सिल्डको उपाधि जितेको हो । प्रिमियर लिग विजेता र एफए कप विजेताले कम्युनिटी सिल्डको फाइनलमा खेल्ने गर्छन् ।
प्रतिक्रिया