Pura Samachar

युभेन्ट्सको जितमा रोनाल्डोले गरे दुई गोल

प्रकाशित: November 2, 2020

युभेन्ट्सको जितमा रोनाल्डोले गरे दुई गोल

इटालियन ‘सिरि ए’ को साविक विजेता युभेन्ट्सले आइतबार राति भएको खेलमा जित हात पारेको छ।

लिगको पछिल्ला दुई खेलमा बराबरीमा रोकिएको युभेन्ट्सले आइतबार स्पेजियालाई ४-१ गोलले पराजित गरेको हो।

युभेन्ट्सको जितमा दोस्रो हाफमा मैदान छिरेका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे।

खेलको ५६ मिनेटमा पाब्लो डिबालाको स्थानमा मैदान छिरेका रोनाल्डोले तीन मिनेटमै गोल गरे।

रोनाल्डोले खेलको ५९ मिनेटमा टिमका लागि दोस्रो गोल गरेका थिए। उनलाई गोल गर्न मोराटाले पास उपलब्ध गराएका थिए।

त्यसअघि युभेन्ट्सले १४ मिनेटमा मोराटाकै गोलबाट अग्रता लिएको थियो। तर ३२ मिनेटमा स्पेजियाका पोबेगाले बराबरी गोल फर्काए।

खेलको ६७ मिनेटमा एड्रियन रेबियोटले युभेन्ट्सका लागि तेस्रो गोल गरेका थिए।

७६ मिनेटमा युभेन्ट्सले पेनाल्टी पायो। प्राप्त अवसरमा रोनाल्डोले टिमका लागि चौथो र व्यक्तिगत दोस्रो गोल गरे।

तीन साताअघि कोरोना संक्रमण भएका रोनाल्डो शुक्रबार मात्र कोरोनामुक्त भएका थिए। कोरोना लाग्दा रोनाल्डोले च्याम्पियन्स लिगका दुई र सिरि एका दुई खेल गुमाएका थिए।

रोनाल्डोले जारी सिजनमा चार लिग खेलमा पाँच गोल गरिसकेका छन्।

यता लिगको अन्य खेलमा एसी मिलानले युडिनेसेलाई २-१, लाजियोले टोरिनोलाई ४-३, रोमाले फ्लोरेन्टिनालाई २-० र सासुओलोले नापोलीलाई २-० गोलले पराजित गरेका छन्।

लिगमा एसी मिलान ६ खेलबाट १६ अंक जोडेर शीर्ष स्थानमा छ। दोस्रो स्थानको सासुओलोको १४ अंक छ भने युभेन्ट्स १२ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।

प्रतिक्रिया