
काठमाडौं । विश्वका धनी राष्ट्रहरूको समूह जी-सेभेनका नेताहरु गरिब राष्ट्रलाई १ अर्ब डोज कोरोना खोप उपलब्ध गराउन सहमत भएका छन् । जी-सेभेनको बैठकपश्चात् आयोजित पत्रकार सम्मेलनमा बेलायती प्रधानमन्त्री बोरिस जोनसनले यो जानकारी दिए ।
उनले जी-सेभेन नेताहरूबीच विपन्न राष्ट्रलाई कोरोनाविरुद्धको एक अर्ब डोज खोप दिने सहमति भएको पत्रकार सम्मेलनमा बताए । खोप सोझै अथवा कोभ्याक्स सुविधामार्फत् दिन सकिने कुरा पनि उनले सुनाए । जी–सेभेन मुलुकले दिने परिमाणमा बेलायतले दिने हिस्सा १० करोड डोज छ ।
पत्रकारमाझ जोनसनले भने, ‘विश्वलाई खोप लगाउने यो अर्को महत्त्वपूर्ण कदम हो ।’ पत्रकार सम्मेलनमा उनले अक्सफोर्ड आस्ट्राजेनेकाले विकास गरेको खोपको भूमिकाको प्रशंसा समेत गरे । उनले जसलाई ‘विश्वकै सबैभन्दा लोकप्रिय’ भनेका छन् ।
कोभ्याक्स सुविधाअन्तर्गत दिइएका खोपमध्ये ९६ प्रतिशत अक्सफोर्ड आस्ट्राजेनेकै रहेको उनको जिकिर छ । यसअघि जी–सेभेन बैठकले विश्वमा बढ्दो चिनियाँ प्रभाव रोक्न गरिब तथा अल्पविकसित मुलुकसँग पूर्वाधार एवं विकास साझेदारी गर्ने सहमति गरेको थियो । जसबारे अहिले विश्व जगतमा टिका टिप्पणी भइरहेको छ ।–एजेन्सीको सहयोगमा
प्रतिक्रिया