
एजेन्सी । नेयमार चम्किएपछि आयोजक ब्राजिलले कोपा अमेरिका फुटबलमा विजयी सुरुवात गरेको छ । आइतबार राति भएको उद्घाटन खेलमा भेनेजुएलालाई ३–० गोल अन्तरले हराउँदै ब्राजिलले विजयी सुरुवात गरेको हो ।
नेयमारले खेलको ६४औँ मिनेटमा पेनाल्टी गोल गरेका हुन् । उनले सहजै गोल गरे । डानिलोलाई भेनेजुएलाका योहानले पेनाल्टी बक्स क्षेत्रमा लडाएपछि ब्राजिलले पेनाल्टी पाएको थियो । नेयमारले आफु मात्रै गोल गरेनन्, गार्बियललाई पास समेत दिए । नेयमारले दिएको पासमा गार्बियलले पनि सहजै गोल गरे ।
ब्राजिलका लागि नेयमारको यो ६७औँ गोल हो । अब पेलेको कीर्तिमान भन्दा नेयमार १० गोलले पछि छन् । ब्राजिललाई जिताउन मार्क्विन्होस र गार्बियल बर्बोसाले पनि एक–एक गोल गरे ।
खेलको २३औँ मिनेटमा मार्क्विन्होसले गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको २६औँ मिनेटमा रिचार्लीसनले गोल गरेपनि उनी अफसाइड रहदा गोलले मान्यता पाएन ।
खेलको ८९ औँ मिनेटमा गार्बियलले गोल गर्दै ब्राजिललाई ३–० को स्थितिमा ल्याए । जितसँगै समूह ‘बी’मा रहेका ब्राजिलले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ । भेनेजुएलाले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
प्रतिक्रिया