Pura Samachar

सेयर बजार बुधबार पनि ५० अंकभन्दा बढीले घटेको छ

प्रकाशित: June 24, 2021

सेयर बजार बुधबार पनि ५० अंकभन्दा बढीले घटेको छ

सूची प्रकरणपछि निरन्तर घट्दोक्रममा रहेको सेयर बजार बुधबार पनि ५० अंकभन्दा बढीले घटेको छ । यस दिन नेप्से सूचक १.७७ प्रतिशत अर्थात् ५१.६५ अंकले घटेर २८६२.१८ अंकमा झरेको हो । सेन्सेटिभ परिसूचक पनि ७.३७ अंकले घटेर ५२८.९७ अंकमा सीमित भएको छ ।

कुल २१८ कम्पनीको १ करोड ९४ लाख १७ हजार ५३२ कित्ता सेयर ८ अर्ब ३६ करोड २६ लाख ७१ हजार ६८१ रुपैयाँमा कारोबार भएको छ  । कारोबार भएका कुल १३ समूहका सूचकमध्ये सबै घटेको छ । विकास बैंकको इन्डेक्स साढे ३ प्रतिशतले घटेको छ भने वित्त, जीवन बीमा र जलविद्युत् कम्पनीका २ प्रतिशतभन्दा बढीले घटेको छ । नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ५४ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेपाल इन्स्योरेन्स ४२ करोड, राधी विद्युत् ३८ करोड, नेसनल हाइड्रो ३३ करोड, एचआईडिसीएलको ३० करोडभन्दा बढीको कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । कारोबार हुने शीर्ष १० मा हिमालयन डिस्टिलरी, अरुण भ्याली, नेपाल टेलिकम, ज्योति विकास बैंक र नबिल बैंक रहेका छन् ।

बोर्डद्वारा सुझाव माग

नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रमका लागि सुझाव माग गरेको छ । बोर्डले आगामी आर्थिक वर्षका लागि धितोपत्रको विनिमय तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रमको मस्यौदा गर्ने कार्य भइरहेको जनाउँदै सरोकारवालालाई सुझाव पेश गर्न भनेको हो ।

सरोकारवालाले धितोपत्र बजार तथा वस्तु विनिमय बजारको विकास, विस्तार तथा सुधारका लागि आफ्नो सल्लाह तथा सुझाव पेश गर्न सक्ने बोर्डले जनाएको छ । असार ३० गतेसम्म बोर्डको इमेल ठेगानामा सल्लाह तथा सुझाव पठाउन सकिने पनि बोर्डले जनाएको छ । बोर्डबाट बजारसम्बन्धी नीति तथा कार्यक्रम तयार गर्दा सरोकारवालासँग समेत सुझाव लिई तयार पारिएको नीति तथा कार्यक्रमलाई सार्वजनिक गर्दै आएको पनि बोर्डले जनाएको छ ।

प्रतिक्रिया