
कोपा अमेरिका २०२१ को फाइनलमा आयोजक ब्राजिललाई हराएर र अर्जेन्टिनाले २८ वर्षपछि मुख्य उपाधि जितेको छ। ल्याटिन अमेरिका र विश्व फुटबलमै शक्तिशाली यी दुई टिमको फाइनलमा भेट हुने तय भएपछि नै संसारभरि रहेका उनीहरूका समर्थकहरूबीच कसले जित्छ भन्ने चर्चा चुलिएको थिए। एकातिर ब्राजिल र नेइमारका फ्यान थिए भने अर्कातिर अर्जेन्टिना र लियोनल मेसीका फ्यान थिए।
फाइनल खेलको २२ औं मिनेटमा अर्जेन्टिनाका एन्जल डि मारियाले गरेको गोलले अर्जेन्टिनाका फ्यानलाई खुसी दियो। त्यसपछि दुबै टिमले गोल गर्न नसकेपछि उपाधि अर्जेन्टिनाको पोल्टामा पर्यो।
यो उपाधिसँगै मेसीले अर्जेन्टिनाका लागि पहिलो मुख्य उपाधि जितेका छन्। जितपछि खुसीले अर्जेन्टिनाका खेलाडी उफ्रिए। एक-अर्कालाई बधाई दिए। तर पराजित टोलीका खेलाडी नेइमार पनि अर्जेन्टिनी खेलाडीले खुसी मनाइरहेको ठाउँमा गए र मेसीलाई अँगालो मारे। उनीहरूले झन्डै १ मिनेटसम्म एक-अर्कालाई अँगालो हालिरहे। यो क्षणले दुबै टिमका समर्थकलाई भावुक बनायो। भिडिओमा नेइमारले मेसीलाई बधाई र मेसीले नेइमारलाई सान्त्वना दिइरहेको जस्तो देखिन्छ। नेइमार र मेसीको उक्त अँगालोको अहिले सामाजिक सञ्जालमा चर्चा भइरहेको छ।
प्रतिक्रिया