Pura Samachar

पीसीआर परीक्षणको नतिजाका आधारमा खेलाडीलाई प्रशिक्षणमा सहभागी गराइने

प्रकाशित: August 7, 2020

पीसीआर परीक्षणको नतिजाका आधारमा खेलाडीलाई प्रशिक्षणमा सहभागी गराइने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेलाडीको पीसीआर परीक्षणको नतिजाका आधारमा प्रशिक्षणमा सहभागी गराउने भएको छ ।

आगामी भदौ १ गतेदेखि थाल्ने प्रशिक्षणका लागि हाल ३४ खेलाडीलाई १४ दिनको क्वारेन्टाइनमा राखिएको छ । प्रशिक्षणको तयारीमा जुटेको एन्फाले राष्ट्रिय फुटबल टोलीका पुरुष खेलाडीलाई साउन १८ गतेदेखि क्वारेन्टाइनमा राखेको हो ।

कोरोना भाइरसको महामारीका कारण फुटबल प्रशिक्षण गत चैत महिनादेखि रोकिएको थियो । आगामी प्रतियोगितालाई ध्यानमा राख्दै एन्फाले राजधानीमा तथा बाहिर रहेका राष्ट्रिय फुटबल टोलीका सबै पुरुष खेलाडीलाई गत साता प्रशिक्षणका लागि काठमाडौं बोलाएको छ ।

एन्फा प्रवक्ता किरण राईका अनुसार साउन २८ गतेसम्म ती सबै खेलाडीको पीसीआर परीक्षण गरिने छ । पीसीआर परीक्षणको नतिजाका आधारमा खेलाडीलाई भदौ १ गतेदेखि प्रशिक्षण दिइने उनले बताए । प्रशिक्षण एन्फा कम्पलेक्स सातदोबाटोमा दिइने प्रवक्ता राईले जानकारी दिए ।

एन्फाले प्रशिक्षणमा सहभागी हुने नेपाली टोलीको प्रशिक्षणका लागि मापदण्ड तयार पारेको छ । कोरोनाबाट सुरक्षित रहनका लागि उक्त मापदण्ड बनाइएको प्रवक्ता राइले बताए । खेलाडीले पोशाक फेर्ने कोठामा कम समय बिताउनुपर्ने, सबै खेलाडी प्रशिक्षक र पदाधिकारीलाई कोरोना भाइरसको विषयमा जानकारी गराउने, अभ्यासका क्रममा दर्शकलाई मैदानमा प्रवेश गर्न नदिने, खाना सामूहिक रुपमा खान नपाइने, सामाजिक दूरी बनाएर खानुपर्नेलगायत मापदण्ड एन्फाले बनाएको छ ।

अभ्यासका क्रममा एउटा खेलाडीले एउटै बोतलले मात्र पानी पिउनुपर्ने, अभ्यास स्थललाई नियमित निर्मलीकरण गर्नुपर्ने तथा अभ्यास स्थलमा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने मापदण्ड बनाएको छ । सहभागी सबै खेलाडीले एकै पटकमा अभ्यास गर्न पाउने छैनन् ।

उनीहरुलाई तीन समूह बनाएर मात्र अभ्यासमा सहभागी गराइने प्रवक्ता राईले बताए । फिफा र विश्व स्वास्थ्य संगठनको स्वास्थ्य निर्देशिकाअनुसार नै खेलाडीलाई प्रशिक्षण दिइने उनको भनाइ छ । एन्फाले फिफा विश्वकप, २०२२ र एएफसी एसियन कप, २०२३ को छनोट प्रतियोगिताका लागि तयारी अगाडि बढाएको हो ।

सरकारले २०७६ चैत ११ गतदेखि लकडाउन लागु गरेको थियो । लकडाउनलगत्तै फुटबल प्रशिक्षण पनि रोकिएको थियो । सरकारले लकडाउन खुला गरेसँगै एन्फाले खेलाडी प्रशिक्षणको प्रक्रिया अघि बढाएको हो । नेपालले विश्वकप छनोटअन्तर्गतको खेलका लागि प्रशिक्षण थाल्नेछ ।

यसअघि एन्फाले नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण शुरु गर्नका लागि युवा तथा खेलकूद मन्त्रालयमार्फत कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सित अनुमति मागेको थियो । एन्फाले फिफा विश्वकप, २०२२ र एएफसी एशियन कप, २०२३ को छनोट प्रतियोगिताको तयारीका लागि अनुमति मागेको थियो ।

कोरोना भाइरसका कारण स्थगित भएको छनोट खेल आगामी अक्टोबर र नोभेम्बरमा गराउने एशियाली फुटबल महासंघ (एएफसी) ले फिफालाई प्रस्ताव गरेको छ । स्थगित भएका खेलहरू आगामी अक्टोबर ८ र १३ तारिख तथा नोभेम्बर १२ र १७ तारिखमा गराउने उल्लेख छ । दोस्रो चरणको छनोटअन्तर्गत नेपालले अब तीन खेल खेल्न बाँकी छ । ती सबै खेल नेपालले घरेलु मैदानमा खेल्नेछ । नेपालले चाइनिज ताइपेई, अस्ट्रेलिया र जोर्डनसँग खेल्नेछ ।

समूह ‘बी’ मा रहेको नेपाल पाँच खेलमध्ये एउटामा जित निकाल्दै तीन अंक जोडेर चौथो स्थानमा छ । नेपालले चाइनिज ताइपेईलाई हराएको थियो । अन्य चार खेलमा नेपाल पराजित भएको थियो । घरेलु मैदानमा हुने तीन खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्नुपर्ने नेपाली खेलाडी सामु चुनौती छ ।

प्रतिक्रिया