काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको कार्यदलले तयार गरेको प्रतिवेदनमा छलफलका लागि हुने भनिएको अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको वार्ता अन्तिम सयमा स्थगित भएको छ ।
आइतबार ११ बजेका लागि तय भएको छलफल अन्तिम समयम आएर स्थगित भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।
उनले भोलि बिहान बस्ने गरी आजको बैठक स्थगित भएको जानकारी दिए । उनले भने, “आज छलफल गर्ने कुरा भएको थियो । प्रधानमन्त्रीले बिजी छु भनेपछि अन्तिम समयमा स्थगित भयो। अध्यक्षद्वयबीच भोलि बिहान कुरा हुन्छ,” थापाले भने ।
विवाद सुल्झाउन गठित ६ सदस्यीय कार्यदलले साता लामो गृहकार्यपछि शनिबा अध्यक्षद्वयलाई आफ्नो प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनमा आज छलफल हुने तय भएको थियो ।
नेकपामा विवाद चुलिएपछि लामो समयदेखि स्थायी कमिटी बैठक पनि सुचारु हुन सकेको छैन । बैठकमा अधिकांश सदस्यहरुले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि विवाद झनै चर्किएको थियो ।
कार्यदलले ओलीले नै पाँच वर्ष प्रधानमन्त्री र प्रचण्डले सम्पूर्ण कार्यकारी अधिकार लिएर पार्टी चलाउन सुझाव दिएको छ । पार्टीलाई एकताबद्ध बनाउनुपर्ने कुरामा पनि जोड दिएको छ ।
कार्यलदलका सदस्यहरुले आफूहरुले बुझाएको प्रतिवदेनले पार्टी विवाद सुल्झने दाबी गर्दै आएका छन् । उक्त प्रतिवेदन ओली प्रचण्डको छलफलपछि सचिवलय बैठकमा पेश हुनेछ । सचिवालयमा छलफलपछि स्थायी कमिटीबाट पारित गरिने नेताहरुले बताएका छन् ।
प्रतिवेदनमा संघीय मन्त्रिपरिषद् र प्रदेश सरकारका मुख्यमन्त्री मन्त्रीहरु हेरफेर गर्नेसमेत सुझाइएको छ ।
प्रतिक्रिया