Pura Samachar

प्रयोगशालामा नमुना लैजानै नपर्ने, ९० मिनेटमै परीक्षण गर्ने ‘सामान्य विधि’

प्रकाशित: September 20, 2020

प्रयोगशालामा नमुना लैजानै नपर्ने, ९० मिनेटमै परीक्षण गर्ने ‘सामान्य विधि’

लन्डन । वैज्ञानिकहरुले कुनै विशेष प्रयोगशालामा नमुना नलगी ‘र्‍यापिड टेस्ट’ (द्रुत परीक्षण) विधिबाट ९० मिनेटमै कोरोना भाइरसको संक्रमण भए/नभएको पत्ता लगाउन सकिने बताएका छन् ।

इम्पेरियल कलेज लन्डनले गरेको एउटा अध्ययनमा ‘ल्याब अन अ चिप’ले अहिले प्रचलनमा भएको परीक्षणको जस्तै परिणाम दिएको देखिएको छ । उक्त उपकरण अहिले बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) द्वारा सञ्‍चालित आठवटा अस्पतालमा बिरामीमा कोरोना भाइरस छ कि छैन भनेर पत्ता लगाउन प्रयोग भइरहेको छ ।

विज्ञहरुले भने बेलायतको ‘टेस्ट एन्ड ट्रेस’  को चुनौतीको समाधान यस विधिबाट हुन नसक्ने चेतावनी दिएका छन् । यो उपकरण डीएनए नज नामक कम्पनीले बनाएको हो । घाँटी वा नाकमा स्वाब हालेर नमुना संकलन गर्न सक्ने जोसुकैले पनि यो उपकरण प्रयोग गर्न सक्छन् ।

परीक्षणका लागि आवश्यक रासायनिक पदार्थ भएको एउटा नीलो काट्रिजमा स्वाब हुन्छ । परीक्षणपछि विसर्जन गर्नुपर्ने काट्रिज एउटा जुत्ता राख्‍ने बाकसजत्रो यन्त्रमा राखिएको हुन्छ । त्यसैले नमुनाको परीक्षण गर्छ । लान्सिट माइक्रोब नामक वैज्ञानिक जर्नलमा यसबारे गरिएको शोध प्रकाशित भएको छ । उक्त अध्ययनमा ३८६ व्यक्तिबाट संकलित नमुनाहरू डीएनए नज र प्रचलित विधिबाट परीक्षण गरिएको थियो ।

“दुवै विधिबाट गरिएको परीक्षणको नतिजा उस्तै आएको छ । नयाँ प्रविधि ल्याउन खोज्दा यो धेरै उत्साहप्रद छ,” इम्पेरियल कलेज लन्डनका प्राध्यापक ग्रेअम कुकले भने, “धेरै परीक्षणमा गति र तथ्यबीच सम्झौता हुन्छ । तर यो परीक्षणले दुवैलाई कायम गर्छ ।” प्रयोगशालामा गरिने परीक्षणले कोरोना भाइरसमुक्त देखाएको बिरामीलाई यो द्रुत परीक्षणले पनि भाइरस नभएको देखाएको छ । प्रयोगशालाले कोरोना भाइरस भएको देखाएका ९४ प्रतिशत परिणाममा यो विधिले उस्तै नतिजा देखाएको छ ।

बेलायतले ५ हजार थान नजबक्स उकरण र ५.८ मिलियन डिस्पोजेबल काट्ररिज माग गरेको छ ।

दुर्गुण के हुन् ?
यो परीक्षणको एउटा ठूलो दुर्गुण पनि छ । यसले एकचोटिमा एउटा मात्र नमुना जाँच्‍न सक्छ ।  अर्थात् एक दिनमा एउटा उपकरणले जम्मा १६ वटा मात्र नमुना जाँच्‍न सक्छ । तर प्राध्यापक कुकले तत्काल कुनै चिकित्सकीय निर्णय गर्नुपर्ने स्थानमा यो उपकरण उपयुक्त हुने बताएका छन् ।  उनले गत साता यो विधिबाट कोभिड-१९ भएको पत्ता लागेका एक बिरामीलाई तत्काल रेम्डिसिभिर र डेक्सामेथासोनजस्ता औषधि दिएको बताएका छन् ।

यो परीक्षण विधि अस्पतालहरूमा भविष्यमा अझ उपयोग हुनसक्छ । किनभने यसबाट कोरोना भाइरस, रुघा र बालबालिकामा श्वासप्रश्वासम्बन्धी समस्या उत्पन्‍न गराउने सिन्सिशीअम भाइरसको परीक्षण एकैचोटि गर्न सकिन्छ । तर यो उपकरणले धेरै नमुना एकैचोटी जाँच्‍न नसक्ने भएकाले एक दिनमा एक करोड व्यक्तिको परीक्षण गर्ने योजनामा यो उपयोग नबन्‍न सक्छ ।

यो अध्ययनमा कुनै संलग्नता नभएका युनिभर्सिटी अफ वोरिकका प्राध्यापक लरेन्स यङले यो विधिको प्रशंसा गरेका छन् । “बिरामीको स्याहार र तत्काल निर्णय गर्नुपर्ने आवश्यकता भएको परिस्थितिमा कोभिड नज परीक्षणको भूमिका महत्त्वपूर्ण हुन्छ । जस्तै कि शल्यक्रियाका लागि अस्पतालमा बिरामी भर्ना गर्नुपर्ने बेलामा ।”

तर विश्वभरि गर्नुपर्ने व्यापाक परीक्षणका लागि यो विकल्प नभएको उनले बताएका छन् ।

प्रतिक्रिया