काठमाडौं – राष्ट्रिय ब्याडमिन्टन खेलाडीहरुको अभ्यास सोमबारबाट हुने संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले बताएका छन् ।
आइतबारदेखि अभ्यासमा फर्किने योजना बनाएको राष्ट्रिय ब्याडमिन्टन संघको पहिलो दिन राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहल सरसफाइ लगायतका काममा बित्यो ।
पहिलो दिनको अभ्यासका लागि भनेर १० जना खेलाडी उपस्थिती भएको अध्यक्ष श्रेष्ठले बताए ।
‘आज सबै तयारी पूरा भएको छ । खेलाडीहरु पनि आएका थिए । सुरक्षा मापदण्डका विषयमा कुराकानी भयो,’ अध्यक्ष श्रेष्ठले भने, ‘भोलिदेखि खेलाडीहरु खेल्छन् ।’
ब्याडमिन्टनको राष्ट्रिय टोलीको प्रशिक्षकमा दक्षिण कोरियाली नागरिक छोइ सेङकुक रहेका छन् । उनी फागुनमा नेपाली टोलीको प्रशिक्षण दिन आइपुगेका थिए । तर, लगत्तै सुरु भएको लकडाउनले कुकले अभ्यास गर्न पाएका थिएनन् ।
नेपाली खेलाडीहरु पनि उनीसँग नेपाली खेलाडीले लामो समय अभ्यास गर्न पाएका छैनन् । साउनमा लकडाउन खुकुलो भएपछि संघले अभ्यास सुरु गरेको थियो । तर, पुन: भदौमा काठमाडौं उपत्यकामा निषेधाज्ञा लागेपछि रोकिएको थियो ।
‘अहिले हामीले स्वास्थ्यका न्युनतम मापदण्ड पूरा गरेर अभ्यास सुरु गरिरहेका छौं । ह्यान्डस्यानिटाइजरको प्रयोग, सामाजिक दूरी कायम र एक अर्काको सामान प्रयोग नगर्ने गरि अभ्यास सुरु गरिरहेका छौं,’ अध्यक्ष श्रेष्ठले भने ।
यस्तै, एक हप्ताभित्र खेलाडी तथा प्रशिक्षकको कोरोना परिक्षण गर्ने संघको तयारी रहेको उनले बताए ।
प्रतिक्रिया