Pura Samachar
  • ‘दुईवटा उद्योगले एउटा बैङ्क डुबाउन सक्छ, अन्ततः मुलुकको अर्थतन्त्र नै ढल्न सक्छ’

    प्रकाशित: १ हप्ता पहिले

    ‘दुईवटा उद्योगले एउटा बैङ्क डुबाउन सक्छ, अन्ततः मुलुकको अर्थतन्त्र नै ढल्न सक्छ’

    अब लकडाउन होइन लकडाउनको विकल्प खोज्ने हो : नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालसँगको वार्ता

    काठमाडौँ । यतिखेर मुलुक कोभिड–१९ सङ्क्रमणको जर्जर अवस्थामा छ । १२० दिन लामो लकडाउन र लकडाउन पछिको निषेधाज्ञाले समेत कोभिड–१९ को सङ्क्रमण नियन्त्रणमा आउन सकेन । हाल दैनिक २ हजारभन्दा बढी सङ्क्रमणका केसहरू आइरहेका छन् भने अहिले सङ्क्रमणको मुख्य केन्द्र काठमाडौँ बनिरहेको छ । यस्तो अवस्थामा हालै मात्र खोलिएको लकडाउन फेरि सुरु हुने हल्ला चल्न थालेको छ ।

    तर यसअघिकै करिब ६ महिना लामो बन्दाबन्दीले मुलुकको अर्थतन्त्र तहसनहस गर्नुबाहेक कोभिड–१९ नियन्त्रणमा आउन नसकेको भन्दै निजी क्षेत्रका साथै सर्वसाधारण समेत अब कुनै पनि हालतमा लकडाउन दोहो¥याउन नहुने पक्षमा छन् । त्यसो त दसैँतिहार जस्ता मुख्य चाडपर्व समेत नजिकिँदै गरेको अवस्थामा पुनः लकडाउन घोषणा गर्नु सरकारकै पनि प्रतिउत्पादक हुन सक्छ ।

    यस्तो अवस्थामा समग्र पक्षलाई निजी व्यावसायिक क्षेत्र अटोमोबाइलले कसरी हेरिरहेको छ ? कोभिड–१९ का बीच अटोमोबाइल व्यवसाय कसरी अघि बढिरहेको सो बारे बुझ्न खोजेका छौँ । विशेष गरी दसैँ–तिहारको अवसरमा अटो बजार कसरी अघि बढिरहेको छ त ? यसै विषयमा केन्द्रित हुँदै अटोमोबाइल क्षेत्रका छाता सङ्गठन अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष कृष्णप्रसाद दुलालसँग रातोपाटीका लागि प्रयास श्रेष्ठले गरेको सङ्क्षिप्त वार्ताः

    दसैँ–तिहार जस्ता ठूला चाडपर्व नजिकिँदै छन् । व्यावसायिक हिसाबले अटोमोबाइल क्षेत्रका लागि यो निकै उर्वर समय हो ।  त्यो उत्साह कत्तिको छ ?

    निश्चय नै अटोमोबाइल व्यवसायका लागि दसैँ–तिहारअघिको समय निकै उर्वर हो । उपभोक्ताले गाडी किन्ने र व्यवसायीहरूले बेच्ने समय यही हो । यतिबेला अटोमोबाइलको राम्रो व्यापार हुने गर्छ । तर यस पटक त्यो व्यावसायिक उत्साह त्यति देखिँदैन । कोभिडका कारण सिथिल अर्थ बजारमा चाहेजसरी गाडी किनबेच हुने अवस्था छैन ।

    थप कोभिड–१९ कै प्रभाव यस पटक नाडा अटो सो जस्तो बृहत् अटो सोसमेत हुन सकेन । यसले अटोमोबाइल क्षेत्रको ठूलो व्यावसायिक प्लेटफर्म गुम्न पुगेको छ । जसको व्यवसायिक प्रभाव यस पटकको दसैँ–तिहारमा अटोमोबाइल व्यवसायमा ठूलो परिमाणमा घट्ने देखिन्छ ।

    यद्यपि लामो समयदेखि रोकिएको अटो बजारले दसैँ–तिहारको अवसरमा केही व्यावसायिक उचाइ लिनेमा भने हामी आशावादी छौँ । कत्तिको सफल भइन्छ त्यो भने अब बजारले नै निर्धारण गर्नेछ ।

     

    गत वर्ष अटो सोबाट मात्र करिब ५ अर्ब रूपैयाँ बराबरको कारोबार गरेको नाडाको भनाइ छ । यस पटक कोभिड–१९ को प्रभाव अटो सो समेत नहुँदा अटोमोबाइल क्षेत्रले कति नोक्सान व्यहोर्नुपर्ला ?

    यो वर्ष व्यावसायिक हिसाबले प्रतिकूल समय हो । व्यवसायमा नाफाभन्दा पनि घाटा नै घाटा हो । तथ्याङ्कमा भन्ने हो भने नाफाका हिसाबले यस वर्ष करिब ९० प्रतिशतले नै नोक्सान हो । व्यवसायका हिसाबले हेर्ने हो भने ५० प्रतिशतले नोक्सान हो ।

    कोभिड–१९ को प्रभावका कारण यस पटक कम्तीमा ५० प्रतिशत व्यापार हुन्छ कि भन्ने छ । ५० प्रतिशत नै भयो भने पनि नाफाका हिसाबमा त्यही १० प्रतिशत जति हुने हो । १० प्रतिशतलाई के नाफा भन्ने ?

    त्यसमा पनि कर्मचारी व्यवस्थापन, भाडा, राजस्व लगायतमा तिर्नै नपुग्ने अवस्था छ । अहिल व्यवसायीहरू लोन लिएर कर्मचारी पाल्ने अवस्थामा छन् । कोभिड–१९ को प्रभाव करिब ६ महिना लामो बन्दाबन्दीमा पनि हामीले कर्मचारीलाई ५० प्रतिशत तलब खुवाइरहेका नै थियौँ । अटोमोबाइल क्षेत्रमा मात्र करिब २० लाखले रोजगारी पाइरहेका छन् ।

    नाडा अटो सोको प्रभावको कुरा गर्ने हो भने त यस पटक ७० देखि ८० प्रतिशतले नोक्सान हुने देखिन्छ । गत वर्ष ५ अर्ब बराबरको कारोबार हुँदा यस पटक त्यसको १५–२० प्रतिशतसम्म पनि हुन गाह्रो छ । यति भइहाल्यो भने पनि धेरै खुसी मान्नुपर्ने हुन्छ ।

    तथापि अटोमोबाइल व्यावसायिक साथीहरूले आआफ्नो तर्फबाट व्यवसायिक पहल गरिरहेका छन् । दसैँ–तिहार विशेष अफर तथा छुटका स्किमहरू लिएर ग्राहकहरूका माझ गइरहेका छन् । आजभोलि बजारमा उपभोक्ताहरूको चहल पहल पनि राम्रै देखिन थालेको छ । यसले केही हदसम्म व्यापार हुन्छ कि हाम्रो अपेक्षा छ ।

    कोभिड–१९ को प्रभाव अटोमोबाइल व्यवसायमा कस्तो रह्यो ? अहिले यो क्षेत्रले आफूलाई कसरी रिभाइभ गर्दैछ ?

    वास्तवमा कोभिड–१९ बाट हाम्रो देश मात्र होइन यतिखेर संसार नै प्रभावित छ । यस्तो अवस्थामा हामी हाम्रो अटो क्षेत्र मात्र प्रभावित भयो, व्यापार व्यवसाय भएन भनेर गुनासो गर्ने पक्षमा छैनौँ । तर समय र परिस्थितिले अटोमोबाइल क्षेत्र पर्यटन व्यवसायपछि सबैभन्दा बढी प्रभावित क्षेत्र रहेको व्यवहारले देखिएको छ । भन्ने नै हो भने लगातारको करिब ६ महिना लामो बन्दाबन्दीका कारण अटोमोबाइल क्षेत्र उठ्नै नसक्ने अवस्थामा पुगिसकेको थियो । तर अहिले लकडाउन खुलेसँगै केही व्यावसायिक वातावरण बन्दै गएको छ । लकडाउन खुलेसँगै बजारमा मान्छेको चहलपहल सुरु भएको छ र अटोमोबाइल क्षेत्रमा पनि ग्राहकहरू लाग्न थालेका अटोमोबाइल व्यवसायीहरूले महसुस गरेका छौँ ।

    यसले लामो समयदेखि बन्द रहेको व्यवसायले अब भने गति लिन्छ कि भन्ने सङ्केत गरेको छ । लकडाउन खुलेपछि स्पेयर पार्टस, टायर लुब्रिकेन्ट अटो वर्कसपसँगै दुई पाङ्ग्रे सवारी साधनको समेत केही व्यापार हुन थालेपछि आशा पलाउन थालेको हो । यसमा थप असोज लागेपछि बजारमा चहल पहल बढेसँगै अब भने अटोबजारले आफ्नो लय समात्छ कि भन्ने आशा पलाएको छ । तर पनि पहिलेकै अवस्थामा बजार फर्किन अझै केही समय कुर्नुपर्ने देखिन्छ । अझै पनि पूर्णरूपमा यातायात क्षेत्र खुलिनसकेको अवस्थामा, बजारमा चहलपहल राम्रो नभइसकेको अवस्थामा व्यावसायिक वातावरण बन्ने देखिँदैन ।

     

    जबसम्म यातायात साधान निर्वाध रूपमा सञ्चाल हुँदैनन् र बजेट खर्च हुने गरी निर्माण तथा पूर्वाधारका काम अघि बढ्दैनन् तबसम्म उपभोक्ताले गाडी किन्ने र व्यवसायीले गाडी बेच्ने वातावरण बन्दैन ।

    नोक्सानका हिसाबले ६ महिना लामो बन्दाबन्दीमा अटोमोबाइल क्षेत्रले व्यहोरेको विशुद्ध क्षति कति हो ?

    क्षतिको त कुरै नगरौँ । शतप्रतिशत नै क्षति हो । यो समयमा पूर्ण रूपमा व्यवसाय चौपट भएर शून्यमा झरेको अवस्था हो । अटोमोबाइल वार्षिक १ खर्ब बराबरको राजस्व तिर्ने सेक्टर हो भने झण्डै २० लाखलाई रोजगारी दिएको क्षेत्र हो ।

    यस्तो क्षेत्रबाट गत आर्थिक वर्षमा मात्र झण्डै ५० प्रतिशतले राजस्व खुम्चिन पुगेको छ । एक खर्बमा करिब ५० अर्ब जति मात्र राजस्व उठ्यो । यसैबाट पनि आँकलन गर्न सकिन्छ यो क्षेत्र कति घाटामा गएको छ ।

    तथ्याङ्गत रूपमा हेर्ने हो भने पनि गत आर्थिक वर्ष २०७६÷७७ को चार महिना चैत, वैशाख, जेठ र असार हामी अटोमोबाइल व्यवसायीका लागि निकै प्रतिकूल रह्यो । कोभिडका कारण यो समयमा अटोमोबाइल व्यवसाय झण्डै शून्यमा नै झर्न पुग्यो । परिणामतः गत आर्थिक वर्षमा अटोमोबाइल आयातको दरमा ५० प्रतिशतले नै गिरावट आयो । यो आयातका आधारमा भन्सारले देखाएको तथ्याङ्क हो । यसमा दुई पाङ्ग्रे, चार पाङ्ग्रे सवारी साधनदेखि स्पेयर पार्टस, टायर, लुब्रिकेन्ट सबैजसोको उस्तै अवस्था देखिन्छ ।

    गत वर्ष करिब ५० प्रतिशतले खस्किएको अटोमोबाइलको व्यापार यो वर्ष त्योभन्दा पनि तल झर्ने देखिन्छ । गत वर्षभन्दा पनि व्यापार नघटोस् भन्ने हाम्रो चाहना हो ।

    व्यावसायिकताको हिसाबले यो वर्ष १ रूपैयाँ पनि नाफा भएन, जेजति नाफा हुन्थ्यो त्यो सबै शून्यमा पुग्यो भनेर हामीले बुझ्नुपर्ने हुन्छ । त्यसमा साँवा नै डुब्ने बेला चाहिँ अझै भइसकेको छैन । साँवा नै डुब्ने अवस्था आयो भने चाहिँ देशलाई नै गाह्रो हुन्छ । अन्तत्वगत्व राजस्व नै कम उठ्यो भने राज्यलाई नै भार पर्ने हो ।

    लामो समयदेखि तपाईंहरू डाउन पेमेन्टको मुद्दामा सरकारसँग लबिङमा हुनुहुन्थ्यो । ५०/५० प्रतिशतको डाउन पेमेन्टको मुद्दा कहाँ पुग्यो ?

    अहिलेको हाम्रो मुख्य चासोको विषय नै यही हो । अन्य समस्या त आउँछन् जान्छन् । कोभिड–१९ को प्रभाव पनि अबको केही समयपछि भ्याक्सिन आउला र टर्ला । तर मुख्य रूपमा अटोमोबाइल क्षेत्रलाई समस्यामा पारिरहेको विषय डाउन पेमेन्टको नीतिले हो । अहिले सरकारसँग हाम्रो असन्तुष्टिको मुद्दा पनि यही हो । डाउन पेमेन्टको मुद्दाबाहेक अहिले हाम्रो सरकारसँग अरू गुनासाका विषय नै छैनन् भन्दा पनि हुन्छ । सरकारले डाउन पेमेन्ट नघटाइदिँदा व्यवसायीलाई समस्यामा पारेको छ ।

    हामीले सरकारसँग माग गर्ने हो । तर मागेका कुरा सबै पाइन्छ भन्ने पनि छैन । केही नपाउन पनि सकिन्छ । त्यसमा सरकारलाई आवश्यक लाग्नुपर्छ । यस मुद्दामा हामी निरन्तर छौँ । कम्तीमा पनि डाउन पेमेन्ट ३०÷७० मा झार्नुपर्छ भन्ने नाडाको माग हो ।

     

    विद्युतीय गाडीका विषयमा चाहिँ के भन्नु हुन्छ नि ? विद्युतीय गाडीमा वृद्धि गरिएको अन्तःशुल्क घटाउने सरकारको निर्णयमा नाडाको भनाइ के छ ?

    नेपालीमा एउटा उखान छ, ‘नहुने मामाभन्दा कानो मामा नै बेस’ । केही हुँदै नहुनुभन्दा केही हुनु राम्रो कुरा हो । अहिले विद्युतीय सवारीमा घटाइएको अन्तःशुल्कको विषय यस्तै हो । सरकारले थोरै भने पनि अन्तःशुल्कको दर घटाएको छ । यसलाई मान्नु पर्छ । अलिकति भने पनि राहत मिलेको छ ।

    यहाँनिर हामीले के बुझ्न आवश्यक छ भने वस्तुमा लाग्ने करले व्यवसायीलाई नभएर यसले उपभोक्तालाई बढी प्रभाव पार्ने हो । व्यावसायीले त वस्तुको खरिद मूल्यमा भन्सार, ट्याक्स भ्याट जोडेर आफ्नो खर्चसमेत जोडर बेच्ने हो । यसमा अर्च बढे बढीमा र घटे कममा बेच्ने हो । यहाँ मार पर्ने भनेको त उपभोक्तालाई नै हो । त्यसैले अहिलेको विद्युतीय सवारीमा बढाइएको कर पनि व्यावसायीलाई नभएर उपभोक्तालाई नै मार पर्ने गरी बढाइएको थियो । जसमा सरकारले थोरै भए पनि कर घटाएर उपभोक्तालाई राहत दिने काम गरेको छ । यसमा नाडाको पूर्ण समर्थन छ । सरकारको यस खालको निर्णयलाई नाडाले हृदयदेखि नै स्वागत गरेको छ ।

    यद्यपि विद्युतीय सवारीमा लगाइएको कर अझै बढी छ । यसले वातावरणमैत्री सवारी सञ्चालन र पेट्रोलियम गाडीको विस्तापनमा सघाउ पुग्दैन । यसमा अझ सरकारले पुनर्विचार गर्नुपर्ने हुन्छ ।

    जहाँसम्म विद्युतीय गाडीको कर पुनर्विचारको विषय छ यो जनस्तरकै दबाबको उपलब्धि हो । यस्तो दबाब अब अन्य गाडीको ट्याक्सको विषयमा पनि उठाउनुपर्ने देखिन्छ । दोस्रो, तेस्रो मुलुकमा ६०–६५ हजारमै पाइने मोटरसाइकल हामीकहाँ अधिकतम ट्क्सका कारण २–३ लाखसम्म परिरहेको छ । त्यस्तै ५–७ लाखमै आउने गाडी २०–२५ लाख तिर्नु परिरहेको छ । यस्तो अवस्थाबाट मुक्त हुन अब जनस्तरबाटै दबाब आउन जरुरी छ । हामी विश्वस्त छौँ ढिलो चाँडो यो अवस्था अवश्य हुन्छ । यसका लागि उपभोक्ताहरू जागरुक हुन आवश्यक छ ।

    कोभिड–१९ को प्रभाव व्यावसायिक छाता सङ्गठनको हैसियतले अटोमोबाइल व्यवसायको उत्थानका लागि नाडाले कस्तो भूमिका खेल्दै छ त ?

    विल्कुल हामी सधैँ व्यवसायीकै पक्षमा छौँ । व्यावसायिक हकहितकै लागि हामी यो ठाउँमा छौँ । नाडाले जे गर्छ, जस्तो योजना बनाउँछ त्यो व्यवसायीकै हितमा रहने गर्छ । अटोमोबाइल क्षेत्र सम्पूर्ण रूपमा अघि बढाउन नै हामी लागिरहेका छौँ । जुन यसअघिको लकडाउन खुलाउने विषयमा भन्नुस्, हामीले गरेको पहल व्यावसायिक हक हितकै लागि थियो । व्यवसाय बचाउनकै लागि थियो ।

    अटोमोबाइल क्षेत्रको व्यापार बढ्न विकास र पूर्वाधारमा लगानी बढ्नुपर्छ । हामीले त्यही कुरा सरकारसँग बारम्बार माग गरिहेका छौँ । विकास निर्माण तथा पूर्वाधारको विकासमा लगानी बढ्यो भने त्यसले हामीलाई नै फाइदा पुग्ने हो । व्यापार व्यवसाय बढ्छ, ट्रक, डोजर चल्छन्, टायर लुब्रिकेन्ट स्पेयर पार्टस्हरूको व्यापार बढ्छ । विकासका गतिविधि नै अघि नबढ्ने हो भने गाडी नै विक्दैनन् । त्यसो त विकास सँगसँगै अटोमोबाइलको भविष्य पनि जोडिएको हुन्छ । त्यसैले हामीले जतिसक्दो विकास र पूर्वाधारमा लगानी बढाउन र लगानीमा सहजीकरण गरिदिन सरकारलाई आग्रह गरिरहेका छौँ ।

    अर्को कुरा डाउन पेमेन्टको नीतिले व्यवसायीहरूलाई अप्ठ्यारो पारिरहेको अवस्थामा हामी डाउन पेमेन्टको सीमा घटाउन सरकारसँग लबिङ गरिरहेका छौँ ।

    अहिले हामी अर्को प्रयत्नमा छौँ । कोभिडका कारण अरुद्ध नाडा अटो सोको विकल्प दिन खोजिरहेका छौँ । भौतिक रूपमा अटो सोको आयोजना गर्न नसकिए पनि अभौतिक रूपमा भने पनि भर्चुअल अटो सो गर्न सकिन्छ कि भनेर प्रयत्न गरिरहेका छौँ । अहिले हामी यसैमा लागेका छौँ ।

    त्यसो त व्यवसायी साथीहरूले अहिले पनि भर्चुअल माध्यमबाटै आआफ्नो प्रोडक्ट तथा गाडीहरू सार्वजनिक गरि नै रहेका छन् । अझ एकै स्थानबाट एकै पटक धेरै गाडी सो गर्न सकिन्छ कि, उपभोक्ता र व्यवसायी दुवैलाई सहज हुन्छ कि भनेर हामीले भर्चुअल अटो सो बारे सोचेका हौँ । कसरी गर्न सकिन्छ अहिले हामी अनुसन्धानमै छौँ । सफल भइयो भने यो प्रयोग इतिहास बन्ने पक्का छ ।

     

    कोभिड–१९ को व्यावसायिक प्रभाव सरकारले ५० अर्ब रूपैयाँ बराबरको आर्थिक राहत प्याकेज ल्याएको छ । अटोमोबाइल क्षेत्रले कत्तिको महसुस गर्न पाएको छ ?

    अटोमोबाइल क्षेत्रमा सीमित ठूला व्यवसायीको साथमा त्यस्ता धेरै साना व्यवसायीहरू छन् । विशेषगरी सरकारकाले ल्याएको व्यावसायिक आर्थिक राहत प्याकेजले यस्ता व्यवसायीलाई फाइदा पुगेको छ । यद्यपि सबै साना ठूला व्यवसायीहरूले आर्थिक प्याकेजको महसुस गर्न पाएका छन् ।

    पहिलो कुरा त आर्थिक प्याकेज अन्तर्गतको २ प्रतिशतको ब्याजको सहुलियत सबैले उपभोग गर्न पाएका छन् । व्यावसायिक कर्जामा २ प्रतिशत ब्याज कम हुनु भनेको हाम्रा लागि धेरै ठूलो कुरा हो ।

    अर्को कुरा ट्याक्स छुट भयो । साना व्यवसायीहरू जो २० लाखभन्दा कम कारोबार गर्छन् तिनीहरूले झण्डै ७५ प्रतिशत नै ट्याक्स फ्री सुविधा पाएका छन् । यो सुविधाबाट करिब ७० प्रतिशत स्पेयर पार्टस्का व्यवसायीहरू लाभान्वित हुन पुगेका छन् भने एक करोडभन्दा माथिको कारोबार गर्ने व्यवसायीहरूले करिब ५० प्रतिशतले ट्याक्स सुविधा पाएका छन् ।

    शतप्रतिशत, ७५ प्रतिशत र ५० प्रतिशत गरी सरकारले व्यावसायिक ट्याक्स छुट दिएको छ । त्यसैगरी लोनको किस्तासमेत सारेको अवस्था छ । त्यसैले यस्तो अवस्थामा हामीले आर्थिक प्याकेज पाएनौँ, सरकारले हेरेन भन्न मिल्दैन । कुनै न कुनै रूपमा व्यावसायिक छुट पाएका छौँ ।

    बजारमा फेरि पनि लकडाउनको हल्ला चलिरहेको छ । यस्तो अवस्था बन्यो भने अब के हुन्छ ?

    लामो समयसम्मको बन्दाबन्दीको चपेटाबाट हामी भर्खरभर्खर मात्र बाहिर निस्कन पाएका छौं । लकडाउनको त्यो धङ्धङी अझै हामीमा छ । बजारले विस्तारै गति लिँदै जाँदा आफै ठीक हुँदै जान्छ । तर अब पनि फेरि लकडाउन गर्ने हो भने देशको अर्थतन्त्रले धान्ने अवस्था रहँदैन । देशको अर्थतन्त्र नै ढल्ने अवस्था बन्न सक्छ ।

    आज एउटा उद्योगमा समस्या प¥यो दुईवटा उद्योग डुब्यो भनेर केही हुन्न भन्न मिल्दैन । त्यही एउटा दुइटा उद्योगले गर्दा देशको अर्थतन्त्र नै ढल्न सक्छ । दुईवटा उद्योगले गर्दा एउटा बैङ्क ढुब्न सक्छ । यसरी नै उद्योग कलकारखाना र व्यावसायिक क्षेत्र डुब्दै जाने हो भने बैङ्कहरू रहँदैनन् र देशको अर्थतन्त्र पनि रहँदैन । त्यसैले बेलैमा सोच्नुपर्छ ।

    अब हामी कोभिडसँग डराएर व्यवसाय बन्द गरेर खाने अवस्था रहँदैन । सुरक्षित रहेर काम गर्ने हो । त्यसो नगरिए भोलि थाल लिएर मागेर खानुपर्ने स्थिति बन्न सक्छ ।

    हिजो कस्ले सोचेको थियो र ? कुनै तारे होटलको सेफ कुक आज खुल्लामञ्चको चौरमा घाम पानीमा रुज्दै अरूले दिएको खाना थापेर खानुपर्छ भनेर । आज हामी अरूलाई पर्दा रमिते बनेर हेरिरहेका छौँ । भोलि हाम्रो पनि यही अवस्था नआउला भन्न सकिन्न । त्यसैले अब लकडाउन होइन लकडाउनको विकल्प खोज्ने हो । अब कोभिडसँग भाग्ने होइन, लड्ने हो ।

    #कृष्णप्रसाद दुलाल

    प्रतिक्रिया