Pura Samachar

ब्राजिलले हटायो वेबसाइटबाट कोरोना संक्रमितको तथ्यांक

प्रकाशित: June 9, 2020

ब्राजिलले हटायो वेबसाइटबाट कोरोना संक्रमितको तथ्यांक

ब्रासिलिया — कोरोना भाइरसको संक्रमणबाट अमेरिकापछि सबैभन्दा बढी प्रभावित ब्राजिलले संक्रमितको तथ्यांक सरकारी वेबसाइटबाट हटाएको छ । कोरोना नियन्त्रण तथा रोकथामका लागि प्रभावकारी कदम नचालेको भन्दै राष्ट्रपति जायर बोलसोनारोको व्यापक आलोचना भइरहेका बेला यसअघिको तथ्यांक हटाइएको हो ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार अब पछिल्लो २४ घण्टाको मात्रै अपडेट गरिनेछ । अरु देशले जस्तो हालसम्म संक्रमित, मृत्यु हुने र निको हुनेको कुल संख्या ब्राजिलले अपडेट गर्नेछैन । ब्राजिलका राष्ट्रपति बोलसोनारोले कुल तथ्यांकले वर्तमान अवस्थाको चित्रण नहुने बताएका छन् ।

अमेरिकाको जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना रिसोर्स सेन्टरका अनुसार ब्राजिलमा संक्रमितको संख्या ६ लाख ९१ हजार नाघेको छ । त्यस्तै ब्राजिलमा अहिलेसम्म ३६ हजार ४ सय ५५ को मृत्यु भएको छ । ब्राजिलमा संक्रमण पुष्टि भएकामध्ये करिब २ लाख ८४ हजार निको भएका छन् ।

विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले सिफारिस गरेको लकडाउनसम्बन्धी मापदण्ड लागू नगरेको भन्दै राष्ट्रपति बोलसोनारोको आलोचना भइरहेको छ । पर्याप्त मात्रामा परीक्षण नभएकाले संक्रमितको संख्या अझै बढी हुन सक्ने पनि बताइएको छ । बोलसोनारोले शुक्रबार मात्रै डब्लूएचओ ‘पक्षपाती राजनीतिक संगठन’ भएको आरोप लगाउँदै सदस्यता त्याग्ने चेतावनी दिएका थिए ।

प्रतिक्रिया