Pura Samachar

डी मारियाको उत्कृष्ट प्रदर्शनमा पीएसजीको शानदार जित

प्रकाशित: November 8, 2020

डी मारियाको उत्कृष्ट प्रदर्शनमा पीएसजीको शानदार जित

एजेन्सी- फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी)ले शानदार जित हात पारेको छ ।

शनिबार राति भएको खेलमा पीएसजीले रेनसलाई ३-० गोलले पराजित गरेको छ ।

घरेलु मैदानमा पीएसजीलाई जित दिलाउन एन्जल डी मारियाले दुई गोल गरे । मोइज किनले थप एक गोल गरे ।

चोटका कारण दुई मुख्य खेलाडी नेयमार र केलियन एमबाप्पे बिना मैदान उत्रिए पनि पीएसजीले सहज जित निकालेको हो ।

खेलको ११औं मिनेटमा किनको गोलबाट पीएसजीले अग्रता बनाएको थियो । २१औं मिनेटमा डी मारियाले गोल गर्दै पीएसजीलाई २-० को अग्रता दिलाए ।

खेलको ७३औं मिनेटमा डी मारियाले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ३-० को जित दिलाए । जितसँगै पीएसजीले आफ्नो शीर्ष स्थानको अग्रता कायम राखेको छ ।

पीएसजीले १० खेलमा २४ अंक जोडेको छ । १० खेलमा १८ अंक जोडेको रेनस तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया