Pura Samachar

दिल्लीलाई पराजित गर्दै मुम्बईले उचाल्यो आईपीएल उपाधि

प्रकाशित: November 11, 2020

दिल्लीलाई पराजित गर्दै मुम्बईले उचाल्यो आईपीएल उपाधि

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को १३ औं संस्करणको उपाधि मुम्बई इन्डियन्सले जितेको छ । युनाइटेड अरब इमिरेट्सको दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा दिल्ली क्यापिटल्सलाई पाँच विकेटले पराजित गर्दै मुम्बई इन्डियन्सले उपाधि उचालेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले छ विकेटको क्षतिमा एक सय ५६ रन बनाएको थियो । एक सय ५७ रनको लक्ष्यका साथ मैदानमा उत्रिएको मुम्बईले १८ ओभर चार बलमा ५ विकेटको क्षतिमा निर्धारित लक्ष्य पूरा गरेको हो । मुम्बईका लागि कप्तान रोहित शर्मालेसर्वाधिक ६८ रन बनाएका छन् ।

उनले ५१ बलमा पाँच चौका र चार छक्कासहित ६८ रन बनाएका हुन् । त्यसैगरी इशान किसनले १९ बलमा ३३ रन बनाएका हुन् । डी ककले १२ बलमा २० रन बनाएका हुन् भने सुरेश कुमार यादवले २० बलमा १९ रन बनाएका छन् । केरोन पोलार्डले ४ बलमा ९ रन बनाएका थिए ।

हार्दिक पाण्डेयाले ५ बलमा ३ रन जोडेर आउट भएका थिए भने कुर्नाल पाण्डेयाले नट आउट एक बलमा एक रन बनाएका हुन् । दिल्लीका लागि एनरिच नोर्टजेले २ र कागिसो राबडा र मार्कुश स्टोइनिसले एक-एक विकेट लिएका हुन् ।

यसअघि दिल्लीका लागि श्रेयस अय्यरले नटआउट ६५ र ऋषभ पन्तले ५६ रन बनाएका थिए । शिखर धवनले १५ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । मुम्बईका लागि ट्रेन्ट बोल्डले तीन, नथान कुल्टर नाइटले दुई र जयन्त यादवले एक विकेट लिए ।

आईपीएलकै सर्वाधिक सफल टिम मानिने मुम्बईले योसहित पाँच पटक आईपीएल उपाधि जितिसकेको छ । तर, दिल्लीको इतिहास भने मुम्बईको ठीक विपरित रहेको छ । दिल्लीले अहिलेसम्म आईपीएलको उपाधि जित्न सकेको छैन ।

आईपीएल इतिहासमा पहिलो पटक फाइनल यात्रा तय गरेको दिल्लीको मुम्बईलाई हराएर इतिहास रच्दै पहिलो उपाधि जित्न चाहाना पूरा हुन सकेन ।

प्रतिक्रिया