बिहार । बिहार विधानसभा निर्वाचनमा मुख्यमन्त्री नितीश कुमार नेतृत्वको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) ले स्पष्ट बहुमत प्राप्त गरेको छ । गएराति सम्पन्न मतगणनामा २४३ विधानसभा सिटमा भएको बिहारमा एनडीएले फेरि एक पटक सरकार बनाउने जनादेश पाएको छ ।
बिहारमा सरकार गठनका लागि १२२ सिट आवश्यकता पर्दछ, जुन एनडीएले १२५ सिट जितेर अहम् आँकडा पार गरेको छ । बिहारमा मुख्यमन्त्री नितीश कुमार नेतृत्वको एनडीएलाई कडा चुनौती दिएको तेजस्वी यादव नेतृत्वको महागठबन्धनले ११० सिट हासिल गरेको छ ।
सांसद असदुद्दीन ओवैसीको पार्टी अल इन्डिया मजलिस–ए–इत्तेहादुल मुस्लिमिनले राम्रो प्रदर्शन गर्दै पाँच सिट जितेको छ । बहुजन समाज पार्टी (बसपा) ले पनि एक सिटमा विजयी भएको छ ।
जेडीयूको विरोध गर्दै बिहार विधानसभा चुनावमा एक्लै मैदानमा होमिएको चिराग पासवानको लोक जनशक्ति पार्टी (एलजेपी) ले मात्र एक सिटमा चित्त बुझाउनु परेको छ ।
एक सीट स्वतन्त्र उमेदवारले जितेका छन् । महागठबन्धनको अगुवाई गरेको राष्ट्रिय जनता दल (आरजेडी) ७५ सिटका साथ सबैभन्दा ठूलो पार्टी बनेको छ । भारतीय जनता पार्टी (बीजेपी) ७४ सिटका साथ दोस्रो नम्बरमा छ । २०१५ मा आरजेडीले ८० र बीजेपीले ५३ सिट जितेका थिए ।
बीजेपी र अन्य सहयोगी दलको राम्रो प्रदर्शनका कारण एनडीए बहुमत प्राप्त गर्न सफल भएको हो । तर, निर्वाचनमा मुख्यमन्त्री नितीश कुमारको पार्टी जनता दल यूनाइटेड (जेडीयू) को प्रदर्शन उत्साहजनक देखिएन ।
२०१५ मा ७१ सिट जितेको जेडीयू यस पटक ४३ सिटमा सीमित भयो । यस्तै २०१५ कै निर्वाचनमा २७ सिट हासिल गरेको कांग्रेसले यस पटक १९ सिटमा चित्त बुझाउनु परेको छ । बीबीसी
प्रतिक्रिया