Pura Samachar

बिहीबार सेयरबजार ३.९४ अंकले घटेर बजार २०८४.०९ बिन्दुमा

प्रकाशित: January 25, 2024
पूरा समाचार

बिहीबार सेयरबजार ३.९४ अंकले घटेर बजार २०८४.०९ बिन्दुमा

काठमाडौं ।साताको अन्तिम कारोबारमा बिहीबार ३.९४ अंकले घटेर बजार २०८४.०९ बिन्दुमा पुगेको छ। ९१ कम्पनीको शेयर मूल्य बढ्दा बजारमा ३ अर्ब ७६ करोड ४५ लाख रूपैयाँको कारोबार भएको छ। बिहीबार १ सय ४२ कम्पनीको शेयर मूल्य घट्दा १५ कम्पनीको भने स्थिर छ।

यो साताको पहिलो कारोबार दिन आइतबार २५.६३ अंकले घटेर २१३०.१८ बिन्दुमा झरेको बजार सोमबार ३१.४९ अंकले घटेर २०९८.६९ बिन्दुमा पुगेको थियो। मंगलबार ०.४० अंकले घट्यो भने बुधबार बजारमा १०.२५ अंकको गिरावट आयो।

उतारचढावपूर्ण बजार सुधारतर्फ लागिरहँदा पछिल्ला कारोबार लगानीकर्ताले सोचेजस्तो हुन सकेको छैन।

गएको साता समग्रमा ६६.८२ अंकले सुधार देखिएको सेयर बजारमा अन्तिमको दुई कारोबारमा बजार घटेको थियो। त्यसयता बजार सुधारतर्फ जान सकेको छैन। गएको साता बुधबार १२.१० अंकले घटेको बजार बिहीबार ७.२४ अंकले घटेको थियो। गएको साता बुधबार कारोबार सुरु भएदेखि निरन्तर बढेको बजारले मनोवैज्ञानिक आधार बिन्दु मानिएको २२०० को बिन्दुसमेत पार गरेको थियो।

नीतिगत सहजतासँगै अहिलेको अवस्थामा बजारमा लगानीकर्ताको साथ देखिएर उचाइतर्फको यात्रा लिइरहँदा उतारचढावको अवस्था देखिन्छ। केही दिनको राम्रो वृद्धिपछि बजार थामिँदै तल झरिरहेको छ। यो साता पाँच कारोबारमा आएको गिरावटले भने लगानीकर्ता मनोवैज्ञानिक आधार बिन्दुबाट तल झरेका छन्।

लगानीकर्ताहरू अहिलेको उतारचढावपूर्ण अवस्थामा पनि बजार मनोवैज्ञानिक आधार बिन्दुबाट पार हुनेमा भने आशावादी नै देखिएका छन्।

अहिले संगठित लगानीकर्ताहरू पनि सुधारोन्मुख देखिएको बजार २२०० को बिन्दुबाट अघि बढ्ने अपेक्षामा छन्। उतारचढावकै अवस्थाबीच बजारको गति सुधार हुने उनीहरू बताउँछन्।

बजारको अहिलेको अवस्था उही बिन्दु वरपर नै तलमाथि भइरहने नै छ। लामो समय १९०० को बिन्दु आसपास उतारचढावमा रहेको बजार अहिले २१०० बिन्दु वरपर घुमिरहने देखिएको विश्लेषकहरू बताउँछन्।

अहिलेको अवस्थामा संगठित लगानीकर्ताहरू कसरी अघि बढ्छन् त्यहीअनुसार बजारको अवस्था तय हुने उनीहरूको भनाइ छ। लगानीकर्ताहरू बजारको अवस्थाले पर्ख र हेरको स्थितिमा रहेका छन्।

प्रतिक्रिया