Pura Samachar

दर्ता नभएका भलिबल क्लबलाई कानुनी दायरामा ल्याउन पहल सुरु

प्रकाशित: January 7, 2021
पूरा समाचार

दर्ता नभएका भलिबल क्लबलाई कानुनी दायरामा ल्याउन पहल सुरु

२३ पुस, काठमाडौं । नेपाल भलिबल संघ (एनभीए)ले दर्ता नगरी संचालन भइरहेका भलिबल क्लबलाई कानुनी दायरामा ल्याउन पहल थालेको गरेको छ ।

नेपालका अधिकांश भलिबल क्लब दर्ता नगरी संचालन भइरहेको पाइएपछि एनभीएले क्लबलाई कानुनी दायरामा ल्याउनका लागि छलफल सुरु गरेको हो ।

एनभीएले बुधबार विभिन्न क्लबहरुसँग यस विषयमा छलफल समेत गरेको छ । एनभीएका उपाध्यक्ष निरोज मास्केको नेतृत्वमा रहेको समितिले विभिन्न क्लबसँग छलफल गरेको थियो ।

छलफलमा काठमाडौंका बुढानीलकण्ठ, कपन, बसपार्क, थानकोटका १० क्लब सहभागी थिए । छलफलपछि  दर्ता नभएका क्लबहरुले आगामी माघ भित्र क्लब दर्ता गर्ने बाचा गरेका थिए ।

उपाध्यक्ष मास्केले धेरै क्लब कतै पनि दर्ता नभई सञ्चालनमा रहेकोले त्यसलाई अब कानुनी दायरमा ल्याउनका लागि छलफल अघि बढाइएको बताइन् ।

उनले क्लब दर्ता हुनुपर्ने र  हिसाब किताब चुस्त दुरुस्त राख्नुपर्ने बताइन् । मास्केले क्लबहरुलाई कानुनी रुपमा दर्ता हुन आग्रह गर्नुका साथै व्यवसायिक रुपमा अघि बढ्नुपर्ने बताइन् ।

भलिबल क्लबहरु दर्ता भई वैधानिक रुपमा अघि बढ्न आवश्यक भएको र यसो भएमा व्यावसायीकरणमा फाइदा पुग्ने मास्केले बताइन् ।

नेपाल भलिबल संघले पछिल्लो कार्यसमिति बैठकबाट उपत्यकामा अवैधानिक रुपमा सञ्चालनमा रहेका भलिबल क्लबलाई कानुनी दायरामा ल्याउनका लागि उपाध्यक्ष मास्केको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो । समितिमा मास्के सहित ऐनबहादुर शाही, मनवीर छत्याल, जितेन्द्र श्रेष्ठ र श्रीराम बोगटी सदस्य रहेका छन् ।

समितिले चाँडै भक्तपुर र ललितपुरका क्लबसँग समेत छलफल गर्ने बताएको छ ।

प्रतिक्रिया