Pura Samachar

पाकिस्तानका पूर्वप्रधानमन्त्रीमाथि बलात्कारको आरोप

प्रकाशित: June 12, 2020
पूरा समाचार

पाकिस्तानका पूर्वप्रधानमन्त्रीमाथि बलात्कारको आरोप

३० जेठ, काठमाडौं । पाकिस्तानमा बस्दै आएकी एक अमेरिकी ब्लगरले पाकिस्तानका पूर्वप्रधानमन्त्री, पूर्वगृहमन्त्रीदेखि विपक्षी दलका नेताहरुमाथि यौन उत्पीडनको आरोप लगाएकी छन् । अमेरिकी ब्लगर सिन्थिया डी. रिचीले सो आरोप लगाएकी हुन् ।

पाँच जुनको दिन सिन्थियाले आफ्नो फेसबुक भिडियो लाइभमार्फत् पाकिस्तान पिपुल्स पार्टीको सरकारमा गृहमन्त्री बनेका रहमान मलिकले आफूलाई सन् २०११ मा बलात्कार गरेको बताएकी छन् ।

साथै उनले पाकिस्तानका पूर्व प्रधानमन्त्री युसुफ रजा गिलानीले आफूमाथि जबर्जस्ती गर्न खोजेको गम्भीर आरोप पनि लगाएकी छन् । इस्लामावादमा ऐवान–ए–सदर (पाकिस्तानको राष्ट्रपति निवास)मा गिलानीलाई भेट्दा, गिलानीले आफूलाई जबरजस्ती गर्न खोजेको उनको आरोप छ ।

ब्लगर सिंथियाले पूर्वस्वास्थ्यमन्त्री शहाबुद्दिनमाथि पनि जोर जबरजस्ती गरेको आरोप लगाएकी छन् । शहाबुद्दिन पनि पाकिस्तान पिपुल्स पार्टीकै नेता हुन् ।

उनले आफ्नो भिडियोमा आफूमाथि भएको यौन हिंसाको बारेमा विस्तारमा जानकारी पनि दिन सक्ने बताएकी छन् । तर भिडियो बालबालिकाहरुले पनि हेर्ने भएकाले सबै कुरा अहिले भन्न नसक्ने उनको भनाइ छ । यद्यपि उनले निष्पक्ष र खोजी पत्रकारहरुलाई यसबारे विस्तारमा जानकारी दिन आफू तयार भएको बताएकी छन् ।

आफ्नो फेसबुक पेजमा उनले लेखेकी छन्, ‘यो घटना पाकिस्तानको राजधानी इस्लामावादको मिनिस्ट्रियल एनक्लेवमा रहेको गृहमन्त्री निवासमा भएको थियो । यो सन् २०११ को घटना हो । त्यही दिन ओसामा विन लादेन अमेरिकी कमाण्डोबाट पाकिस्तानको एबटावादमा मारिएका थिए । मलाई लाग्यो गृहमन्त्रीसँगको भेटवार्ता शायद मेरो भिसाको विषयमा होला । तर मलाई फूल र यस्तो पेय पदार्थ दिइयो, जसमा नशालु औषधि मिसाइएको थियो । म चूप रहेँ किनभने पाकिस्तान पिपुल्स पार्टीको सरकारमा आदिर को थियो र जो आफ्नो गृहमन्त्रीविरुद्ध उत्रिएर मेरो सहयोग गर्न सक्ने । हालै उनीहरुले मेरो परिवारलाई निशाना बनाए ।’

‘सन् २०११ मा नै मैले मसँग भएका घटनाको बारेमा अमेरिकी दूतावासमा कसैसँग भनेको थिएँ । तर त्यो बेला अवस्था एकदम नाजुक थियो । अमेरिका र पाकिस्तानबीच पेचिलो सम्बन्धका कारण मेरो गुनासोमा अमेरिकी दूतावासका ती अधिकारीले खासै चासो दिएनन् । पाकिस्तानमा मेरो कुराकानी एक शानदार व्यक्तिसँग भयो । अब उनीसँग मेरो इङ्गेजमेन्ट पनि भइसकेको छ । उनले आफूसँग भएका सबै कुरा दुनियाँलाई जानकारी देऊ भनेर मेरो हौसला बढाए । ताकि हामी एक युगलको रुपमा जिन्दगीलाई अगाडि बढाउन सकौं ।’

‘यस्ता धेरै कुराहरु छन्, जो म भन्न चाहान्छु । तर हाल मलाई आराम गर्न केही समय चाहिएको छ । म एक्लै मेरो जोडासँग बस्न चाहान्छु । म थाकिसकेकी छु । मैले पाकिस्तान पिपुल्स पार्टीको नेतृत्व र बिलावल भुट्टो जरदारीसँग अपिल गरें– उनको पार्टीका मान्छेहरुले म र मेरो परिवारलाई एक्लै छाड्दिउन् ।’

‘आगामी हप्ता म कानुनको सामना गर्न र कुनै पनि अनुसन्धानकर्तासँग भेट्न तयार छु । तर अहिल म सबैसँग अनुरोध गर्दछु कि मेरो गोप्यताको सम्मान गरियोस् र मलाई एक्लै छाडिदिइयोस् ।’

अमेरिकी ब्लगर सिन्थिया रिचीले लगाएका आरोपमा पाकिस्तान पिपुल्स पार्टीका नेताहरुले कुनै सत्यता नभएको बताएका छन् । उनीहरुले सिन्थियाको उद्देश्यमाथि पनि प्रश्न उठाएका छन् । पाकिस्तानका पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीले सिन्थियाको आरोप निराधार र असत्य भनेका छन् ।

सिन्थिया रिचीले आफूलाई लेखिका, फिल्म निर्माता र ब्लगरको रुपमा चिनाउँछन् । उनको सन् २००९ मा पहिलो पटक पाकिस्तान आएकी उनको सम्बन्ध पाकिस्तानका उच्च नेता र सुरक्षा अधिकारीहरुसम्म छ ।

उनले गत मे २८ मा एक ट्वीट गर्दै पूर्व प्रधानमन्त्री बेनजिर भुट्टोमाथि पनि गम्भीर आरोप लगाएकी थिइन् । उनले लेखेकी थिइन्– बेनजिर भुट्टोले आफ्ना सुरक्षा गार्डहरुमार्फत् ती महिलाहरुमाथि बलात्कार गराउँथिन्, जुन महिलासँग उनको पति आसिफ अलि जर्दारीको सम्बन्ध हुने गर्दथ्यो । उनको यो ट्वीटपछि जनताले प्रमाण पेश गर्न सिन्थियालाई भने तर सिन्थियाले अहिलेसम्म त्यससम्बन्धी एउटा पनि प्रमाण सार्वजनिक गर्न सकेकी छैनन् ।

प्रतिक्रिया