Pura Samachar

भारतीय कांग्रेस- “नेपालसँगको सीमा विवाद आपसी मित्रताकै आधारमा समाधान गरौं “

प्रकाशित: June 12, 2020

भारतीय कांग्रेस- “नेपालसँगको सीमा विवाद आपसी मित्रताकै आधारमा समाधान गरौं “

जेठ ३०, २०७७ काठमाडौं : भारतीय राष्ट्रिय कांग्रेसले नेपालसँगको सीमा विवाद तत्काल वार्तामार्फत समाधान गर्न भारत सरकारसँग माग गरेको छ। भारतीय कांग्रेसको अन्तर्राष्ट्रिय सम्बन्ध विभागका अध्यक्ष तथा राज्यसभा नेता आनन्द शर्माले एक विज्ञप्ति जारी गर्दै नेपाल–भारत सम्बन्धको महत्व र संवेदनशीलतालाई ख्याल राख्दै तत्काल वार्तामार्फत् समस्या समाधान गर्न सरकारसँग माग गरेका हुन्।   भारत र नेपालबीचको सीमा विवादलगायतमा समस्या समाधानका लागि द्विपक्षीय संयन्त्र हुँदा हुँदै पनि अहिलेको अवस्था आउनु दुः खद भएको नेता शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ। दुई देशबीचको ऐतिहासिक र मित्रतापूर्ण सम्बन्धमा दरार आएकाले तत्कालै सम्बोधन हुनुपर्ने जनाइएको छ। ‘भारतले सधैं नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान गर्दै आएको र दुई देशले करिब ९८ प्रतिशत सीमा विवाद समाधान भइसकेको बाँकी रहेका सीमा विवाद पनि आपसी समक्षदारी र मित्रताकै आधारमा कूटनीतिक वार्ता र सम्झौतामार्फत नै समाधान हुनुपर्नेमा भारतीय कांग्रेस अडिग छ।’ विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया