Pura Samachar

लकडाउन पछि भन्सारको दैनिक अन्तर्राष्ट्रिय कारोबार दुई अर्ब ४० करोड वृद्धि

प्रकाशित: June 12, 2020

लकडाउन पछि भन्सारको दैनिक अन्तर्राष्ट्रिय कारोबार दुई अर्ब ४० करोड वृद्धि

काठमाडौं । नेपाल र भारत दुवै देशमा लकडाउन खुकुलो हुन थालेपछि नेपालको बाहृय व्यापार बढ्न थालेको छ । लकडाउनका कारण शिथिल बनेको भन्सार कारोबारमा उल्लेख्य सुधार भएको भन्सार विभागले जनाएको छ ।

लकडाउनको सुरुआती हप्ताको तुलनामा भन्सारको दैनिका कारोबार दुई अर्ब ४० करोड हाराहारीले बढेको भन्सार विभागका महानिर्देशक सुमन दाहालले बताए ।

लकडाउनको पहिलो हप्ता दिनको ५० देखि ६० करोडको हाराहारीमा हुने गरेको औसत आयात जेठ अन्तिममसम्म आईपुग्दा दैनिक तीन अर्बको हाराहारीमा पुगेको महानिर्देशक दाहालको भनाइ छ ।

यसअघि कोरोना असर तथा लकडाउन नहुँदा दैनिक औसत ५ अर्बको भन्सारको कारोबार हुने गरेको थियो । जेठ २५ गतेसम्मको विवरणमा भन्सार कारोबार ६० प्रतिशत हाराहारीमा पुगेको महानिर्देशक दाहालले बताए ।

पछिल्लो चार दिनमा बढेको भन्सारको आयात चाप हेर्दा कारोबार ७० प्रतिशत हाराहारी पुगेको हुन सक्ने उनले बताए ।

बिहीबार मात्रै विराटनगर नाकामा नेपाल भित्रिने मालबाहक सवारी सरिसाधनको लाम केही किलोमिटरसम्म पुगेको भन्सार कार्यालय विराटनगरले जनाएको छ ।

नेपाल र भारत दुबैतर्फ लकडाउन खुकुलो भएपछि केही दिनदेखि सबै नाकाबाट आयात बढ्न थालेको विभागले जनाएको छ ।

प्रतिक्रिया