Pura Samachar

चिनियाँ विदेशमन्त्री र म्यानमार सेना प्रमुखबीच भेट भएको २० दिनपछि ‘कू’

प्रकाशित: February 1, 2021
पूरा समाचार

चिनियाँ विदेशमन्त्री र म्यानमार सेना प्रमुखबीच भेट भएको २० दिनपछि ‘कू’

याङगुन । म्यानमारमा सरकार असफल भएको भन्दै सेनाले सत्ता कब्जा गर्दै सैन्य ‘कू’ गरेको छ । सोमबार बिहान संसद बैठक बस्ने तयारी भइरहेकै समयमा सेनाले म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सू ची, राष्ट्रपति वुइन मियन र अन्य राजनीतिक नेताहरुलाई नियन्त्रणमा लिएको छ ।

गत नोभेम्बरमा भएको निर्वाचनको मतपरिणाम सेनालाई चित्त बुझेको थिएन । सू चीको दल नेशनल लिग फर डेमोक्रेटिक पार्टीले चार सय ७६ मध्ये तीन सय ९६ सिट जितेको थियो । सेना समर्थित दल पराजित भएपछि सेनाले निर्वाचनमा धाँधली भएको आरोप लगाएको थियो ।

सेनाले निर्वाचन परिणाम स्वीकार गर्न नसकिने चेतावनी दिँइरहेका बेला संसद् बैठक बस्न लागेपछि सेनाले नेताहरुलाई नियन्त्रणमा लिएर ‘कू’ गरेको हो । म्यानमारमा भएको सैन्य ‘कू’ को चौतर्फी विरोध भइरहेको छ । अमेरिकाले सू चीलगायत नियन्त्रणमा लिएका नेताहरुलाई तत्काल रिहा नगरे ‘एक्सन’ लिने बताएको छ ।

बेलायतका प्रधानमन्त्री वोरिस जोन्सनले पनि म्यानमारको सैन्य ‘कू’ को निन्दा गर्दै नियन्त्रणमा लिएका नेताहरुलाई रिहा गर्न आह्वान गरेका छन् । अस्ट्रेलियालेसमेत सैन्य ‘कू’ को विरोध गरेको छ ।

तर, चीनले भने यस विषयमा सूचना संकलन गरिरहेको जनाएको छ । एसोसियट प्रेसका अनुसार चीनले भनेको छ, “हामी सोमबार म्यानमारमा भएको पछिल्लो घटनाबारे सूचना संकलन गरिरहेका छौं ।”

म्यामार चीनको एक महत्वपूर्ण आर्थिक साझेदार मुलुक हो । म्यानमारको खानी, पूर्वाधार र ग्यास पाइप लाइनमा चीनले ठूलो लगानी गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले भने, “म्यानमारमा के भइरहेको छ भन्ने कुरा हामी बुझ्दै छौं । हामी पछिल्लो विकास के हुन्छ भन्ने बुझ्दै छौं ।”

उनले थपे, “चीन हाम्रो नजिकको छिमेकी मुलुक हो । हामीलाई विश्वास छ कि म्यानमारका सम्पूर्ण पार्टीले सुझबुझका साथ स्थितिलाई नियन्त्रणमा लिनेछन् । संवैधानिक कानुनी फ्रेमवर्कभित्र रहेर राजनीतिक र सामाजिक स्थायित्व कायम गरिनेछ ।”

यसअघि चिनियाँ विदेश मन्त्री वाङ यी म्यानमार भ्रमणमा गएका थिए । उनी जनवरी ११ मा म्यानमार भ्रमणमा गएका हुन् । विदेशमन्त्री वाङ यीले जनवरी १२ मा म्यानमारका सेना प्रमुख मिन आङ लियाङसँग भेट गरेका थिए ।

भेटका क्रममा वाङ यीले भनेका थिए, “म्यानमार सेनाले राष्ट्रिय पुनरुद्धारलाई आफ्नो मिसनको रूपमा लिन्छ । दीर्घकालीन दृष्टिकोणबाट देशको भविष्यको विकासबारे चीन र म्यानमारबीचको परम्परागत मैत्रीप्रति प्रतिबद्धता जनाउँछ । दुई देशबीचको ‘पाकफाउ’ (भ्रातृत्व) मैत्रीलाई बढावा दिन्छ ।”

चीन र म्यानमार एक गम्भीर राजनीतिक सहमतिमा पुगेका विदेशमन्त्री वाङ यीले म्यानमारका सेना प्रमुखसँगको भेटमा बताएका थिए । म्यानमारका सेना प्रमुखसँगको भेट भएको २० दिनपछि ‘कू’ गरिएको छ । यसमा चिनियाँ संलग्नता हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले समेत आशंका व्यक्त गरेका छन् । अमेरिकाले म्यानमारको प्रजातन्त्र ध्वस्त पार्न विदेशी मुलुकहरुले खेलेको हुन सक्ने जनाएको छ ।

राष्ट्रपति वुइनलाई नियन्त्रणमा लिइसकेपछि उपराष्ट्रपतिलाई सत्ताको जिम्मा दिइएको छ । उनले एक वर्षका लागि संकटकाल घोषणा गर्ने पत्रमा हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया