काठमाडौं । नेपाली कांग्रेसका उपसभाति विमलेन्द्र निधिले नेपालको अर्थतन्त्रलाई मजबुत बनाउन नेपाल सहकारी बैंक अपरिहार्य रहेको बताउनुभएको छ । शनिबार काठमाडौंमा सम्पन्न सहकारी संस्थाका प्रतिनिधिको भेलालाई सम्बोधन गर्दै नेता निधिले एउटा मात्र सहकारी बैंकले सहकारी क्षेत्र समेट्न नसकेको टिप्पणी गर्दै आवश्यकता र आधार पुगेका सबैलाई बैंक बनाउन सकिने बताउनुभएको हो ।
७७ वटै जिल्लाबाट करिब तीन हजार सहकारी संस्थाका प्रतिनिधिको उपस्थिति रहेको भेलालाई सम्बोधन गर्दै पूर्व–उपप्रधानमन्त्रीसमेत रहनुभएका नेता निधिले करिब एक हजार सदस्यता दर्ता भएको बैंकलाई कुनै पनि हालतमा रोक्न नसक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘बंैक सबैको लागि आवश्यकता छ, तपाईंहरू दर्ता प्रक्रियामा जानुस् कसैले रोक्न सक्दैन बैंक स्थापना भएरै छाड्नेछ’, उहाँले जननेता बिपी कोइरालाले नेपालमा अर्थतन्त्र प्रवेश गराउनुभएको दाबी गर्दै मुलुकभर सहकारी फस्टाएको स्मरण गर्नुभयो ।
राष्ट्रिय सहकारी बैंकका सञ्चालकले नेपाल सहरकारी बैंक खोल्न दिन नहुने भन्दै आफूलाई सहयोग नगर्न आग्रह गरेको खुलासा गर्दै उहाँले भन्नुभयो, ‘केही केही नेपाल सहकारी बैंकको विरुद्धमा लागेका छन्, म भन्छु यसले केही समस्या पार्दैन प्रक्रिया थाल्नुस् सिंगो पार्टीको पूर्ण सहयोग रहनेछ ।’
प्रस्तावित नेपाल सहकारी बैंक स्थापना गर्नुपर्ने कारणबारे औँल्याउदै बैंक स्थापना गर्न गठित कार्यदलका संयोजक सुरेन्द्र भण्डारीले राष्ट्रिय सहकारी बंैकले राष्ट्र बैंकबाट कारोबारका लागि अनुमति प्राप्त गर्न नसक्नु, नेपाल राष्ट्र बैंकको ऐनमा सहकारी बंैकसम्बन्धी व्यवस्था गर्न नसक्नु, सहकारी संस्थालाई बचत तथा ऋणको कारोबारबाहेक अन्य सेवा उपलब्ध गराउन नसक्नु, बिना धितो ठूलो रकम प्रवाह गर्नु, बंैक सञ्चालनमा राजनीति हाबी हुनु, कर्जा लगानीमा विभेद गर्नुलगायतका कारणले नयाँ बैंकको आवश्यकता महसुस गरी एक हजारभन्दा बढी सदस्य संस्थाको भेला आयोजना गर्नुपरेको बताउनुभयो ।
भेलामा पूर्व–मन्त्री एवं नेपाली कांग्रेस सहकारी विभाग प्रमुख आनन्द ढुंगानाले मुलुकमा एउटा मात्र सहकारी बैंकले सबै सहकारीकर्मीलाई समेट्न नसकेको कारण बैंक स्थापना गर्ने कामको सुरुवात गरेकोमा खुसी व्यक्त गर्नुभयो ।
यस्तै, भेलामा पूर्व–अर्थराज्यमन्त्री एवं नेपालीका कांग्रेसका नेता उदयशमसेर राणा, पूर्व–गभर्नर डा. चिरञ्जीवी नेपाल, सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेल, महेन्द्र नारायणनिधि मेमोरियल सहकारी संस्थाका सञ्चालक भानुभक्त ढकाललगायतले अहिलेको अवस्थामा एउटा मात्र सहकारी बैंकले काम गर्न नसकेको सो बैंकले सबै सहकारीकर्मीलाई समेट्न नसकेको कारण बैंक स्थापना गर्ने काम थालेकोमा शुभकामना व्यक्त गर्नुभएको थियो ।
समग्र अर्थतन्त्रमा सहकारी क्षेत्रको महत्वपूर्ण योगदान रहँदै आएको छ । सहकारी क्षेत्रले देशको कुल गार्हस्थ उत्पादनमा चार प्रतिशतको योगदान दिइरहेको छ । हाल देशभरका सहकारी संस्थाहरूले वार्षिक रूपमा करिब १० खर्बको आर्थिक कारोबार गर्ने गर्दछन् । राष्ट्रिय अर्थतन्त्रमा सहकारीको २० प्रतिशत योगदान छ । हाल देशभरमा ३० हजारभन्दा धेरै सहकारी संस्था सञ्चालनमा छन् । ७७ वटै जिल्लामा ७० लाख सदस्य संख्या रहेको सहकारी क्षेत्रले तीन लाखभन्दा बढी मानिसलाई प्रत्यक्षरूपमा रोजगारी प्रदान गरिरहेको छ ।
प्रतिक्रिया