Pura Samachar

कोरोना भाइरस व्यवस्थापन अमेरिकाको भन्दा रसियाको धेरै राम्रो, अमेरिकामा राजनीति हाबी -पुटिन

प्रकाशित: June 15, 2020

कोरोना भाइरस व्यवस्थापन अमेरिकाको भन्दा रसियाको धेरै राम्रो, अमेरिकामा राजनीति हाबी -पुटिन

रसियाका राष्ट्रपति भ्लादमिर पुटिनले आइतबार रसियाको कोरोना भाइरस रोकथाम र व्यवस्थापन अमेरिकाको भन्दा धेरै राम्रो भएको बताएका छन्।

उनले कोरोनाबाट रसियामा कम क्षति भएको र देश त्यसबाट निस्कने क्रममा रहेको बताउँदै कोरोनाको लडाईं अमेरिकालाई आन्तरिक राजनीतिले बाधा गरेको बताए।

रसिया हाल अमेरिका र ब्राजिलपछि तेश्रो धेरै कोरोना संक्रमित भएको मुलुक हो।

कोरोनाका कारण रसियामा हालसम्म ६ हजार ९ सय ४८ जनाको मृत्यु भएको छ। यो संख्या अमेरिकासहित अन्य मुलुकको दाँजोमा कम हो। अमेरिकामा हालसम्म कोरोनाबाट १ लाख १५ हजार बढी मानिसको मृत्यु भइसकेको छ।

यध्यपी रूसको कोरोनासम्बन्धी तथ्यांकमा धेरैले शंका व्यक्त गर्ने गरेका छन्।

‘हामी यसमा सहज किसिमले काम गरिरहेका छौं र कम क्षतिसहित उम्कने क्रममा छौं। तर अमेरिकामा यस्तो भइरहेको छैन’, राज्य नियन्त्रित टेलिभिजनसँग पुटिनले भने।

रसियाको राजनीतिक व्यवस्थाले संकटलाई अमेरिकी समकक्षीभन्दा राम्रो गरी व्यवस्थापन गरेको उनको दाबी छ।

उनले रसियाले संघीय एवं क्षेत्रिय स्तरमा एकजुट भएर काम गरेको र अमेरिकामा जस्तो मतभिन्नता नरहेको बताए।

‘हामी सरकारले वा राष्ट्रपतिले भनेको कुरा गर्दैनौ भनेर रसियामा कसैले भन्छ भनेर म कल्पना गर्न सक्दिन’, पुटिनले भने।

पुटिनले भाइरसले अमेरिकाको गहिरो आन्तरिक समस्यालाई उजागर गरेको र यो राष्ट्रपतिमा ट्रम्पको जित र त्यसको वैधानिकतालाई अवमूल्यन विपक्षीहरूको प्रयास भएको बताए।

अन्तरवार्तामा राष्ट्रपति पुटिनले देशको संविधान संशोधन उनको सत्ता लम्बाउन गरिएको प्रयास भएको आरोपलाई अस्वीकार गरे। उनले संविधान संशोधनपछि संसदसँग परिवर्तनका लागि अझ ठूलो भूमिका हुने भन्दै आरोपको खण्डन गरे।

रसियामा संविधान संशोधनका लागि जुन २५ मा देशव्यापी मतदान हुँदैछ। संशोधनको पक्षमा नतिजा आए त्यसले ६७ वर्षीय राष्ट्रपति पुटिनलाई थप दुई कार्यकालका लागि राष्ट्रपति बन्ने बाटो खोलिदिनेछ। उनी सन् १९९९ देखि रसियाको सत्तामा रहँदै आएका छन्। संशोधनको विपक्षमा नतिजा आएमा भने सन् २०२४ पछि उनले रसियाको सत्ता छोड्नुपर्नेछ।

प्रतिक्रिया