Pura Samachar
  • बुर्किना फासोमा विद्रोहीको आक्रमणमा परी १३२ जनाको मृत्यु

    प्रकाशित: २ हप्ता पहिले

    बुर्किना फासोमा विद्रोहीको आक्रमणमा परी १३२ जनाको मृत्यु

    सशस्त्र बन्दुकधारीले बुर्किना फासोको उत्तरी क्षेत्रस्थित एक गाउँमा शनिबार राति गरेको आक्रमणमा कम्तीमा १३२ जनाको मृत्यु भएको छ ।

    पश्चिम अफ्रिकी मुलुक बुर्किना फासोको इतिहासमा पछिल्लो वर्षहरूमा भएको यो भयानक आक्रमण हो ।

    सोल्हान गाउँमा रातको समयमा भएको आक्रमणको क्रममा स्थानीय बासिन्दाका घर तथा स्थानीय बजारमा आगजनीसमेत भएको छ ।

    अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मा लिएका छैन, तर पछिल्लो वर्षहरूमा बुर्किना फासोमा इस्लामिक समूहका आक्रमण हुने गरेका छन् । विशेषगरी सीमा क्षेत्रहरूमा यस्ता आक्रमण बारम्बार हुँदै आएका छन् ।

    संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुट्रेसले घटना दुखद भएको बताउँदै घटनाको निन्दा गरेका छन् ।

    घटनापछि बुर्किना फासोका राष्ट्रपति रोच काबोरीले तीन दिनको राष्ट्रिय शोकको घोषणा गरेका छन् । उनले अमानवीय घटनाहरूविरुद्ध सबै एक हुनुपर्ने पनि उल्लेख गरेका छन् ।

    यसअघि शुक्रबार राति भएको अर्को आक्रमणमा सोल्हान गाउँबाट १५० किलोमिटर उत्तरमा रहेको तादार्यात गाउँमा १४ जनाको ज्यान गएको थियो । गएको महिना बुर्किना फासोको पूर्वी क्षेत्रमा भएको आक्रमणमा ३० जनाको ज्यान गएको थियो ।

    प्रतिक्रिया