
एजेन्सी । इटालियन सिरी एमा इन्टर मिलान विजयी भएको छ । आइतबार राति घरेलु मैदानमा भएको खेलमा मिलान साम्पडोरियामाथी २-१ गोलले विजयी भएको हो ।
मिलानको जितका लागि बेल्जियम स्ट्राइकर रोमेलु लुकाकु र मार्टिनेजले एक एक गोल गरे । साम्पडोरियाका लागि मार्टेन थोर्सबाइले एक गोल फर्काए ।
खेलको १० औं मिनेटमा नै लुकाकुले गोल गर्दै मिलानलाई अग्रता दिलाए । उनले क्रिस्टियन एरिक्सनको पासमा गोल गर्दै घरेलु टोलिलाई अग्रता दिलाएका थिए । त्यस्तै ३३ औं मिनेटमा मार्टिनेजले गोल गर्दै मिलानको अग्रता दोब्बर पारे । उनले एन्टोनिओ क्यान्ड्रेवाको पासमा गोल गर्दै मिलानलाई पहिलो हाफमा २-० को अग्रता दिलाए ।
दोस्रो हाफमा भने मिलानले गोल गर्न सकेन । खेलको ५३ औं मिनेटमा साम्पडोरियाका मार्टेनले गोल गर्दै खेलमा फर्किने संकेत देखाए । तर, त्यसपछि थप गोल गर्न नसक्दा मिलानले खेल २-१ गोलले जितेको हो ।
यस जितसँगै मिलान ५७ अंक सहित तालिकाको तेस्रो स्थानमा यथावत छ । २६ खेल खेलेको मिलानको दोस्रो स्थानको लाजिओ भन्दा पाँच अंकले पछि छ । यता पराजित सम्पडोरिया भने २६ अंक सहित १६ औं स्थानमा छ ।
प्रतिक्रिया