
एजेन्सी । कोपा अमेरिका फुटबलमा अर्जेन्टिनालाई पहिलो खेलमै ठक्कर लागेको छ । ब्राजिलमा जारी प्रतियोगिता अन्तर्गत सोमबार राति भएको खेलमा अर्जेन्टिना चिलीसँग १–१ गोलको बराबरीमा रोकिएर अंक बाड्न पुग्यो ।
सुरुवाती एक गोलको अग्रता जोगाउन नसक्दा अर्जेन्टिना बराबरीमा खुम्चिएको हो । ३३औं मिनेटमा कप्तान लियोनल मेस्सीले फ्रिकिकमा गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए ।
चिलीका एरिक पुल्गरले पेनाल्टी क्षेत्र बाहिर जियोभानी लो सेल्सोलाई फाउल गरेपछि अर्जेन्टिनाले फ्रिकिक पाएको थियो । मेस्सीले टप कर्नरमा उत्कृष्ट गोल गरे ।
अर्जेन्टिनाका लागि मेस्सीको यो ७३औं गोल हो । खेलको ५८औं मिनेटमा एडुवार्डो भार्गासले गोल गर्दै चिलीलाई १–१ गोलको बराबरीमा फर्काए । यो बराबरीसँगै समूह ‘ए’ मा रहेका दुबै टोलीले एक–एक अंक बाडेका छन् । अर्जेन्टिना समूहको शीर्ष स्थानमा छ भने चिली दोस्रो स्थानमा छ ।
प्रतिक्रिया