Pura Samachar

नेदरल्याण्ड्स र बेल्जियम यूरो कपको नकआउट चरणमा

प्रकाशित: June 18, 2021

नेदरल्याण्ड्स र बेल्जियम यूरो कपको नकआउट चरणमा

एजेन्सी – यूरो कप २०२० अन्तर्गत अन्तर्गत समूह सी को बिहिबार राति सम्पन्न खेलबमा दोस्रो जीत हासिल गर्दै नेदरल्याण्ड्स अन्तिम १६ मा प्रवेश गर्न सफल भएको छ ।

घरेलु मैदानमा अष्ट्रियामाथि २–० को जीत हासिल गर्दै डच टोली १३ वर्षपछि युरोको नकआउट चरणमा पुगेको हो ।

यसअघि टोली सन् २००८ को यूरोमा समूह चरण पार गर्न सफल रहेको थियो ।

नेदरल्यान्ड्सले खेलको ११ औं मिनेटमै मेम्फिस डिपाएको पेनाल्टी गोलमा अग्रता लिएको थियो ।

अष्ट्रियाका कप्तान डेविड अलाबाले पेनाल्टी क्षेत्रभित्र डेन्जेल डम्फ्राईजलाई लडाएको भिडियो असिस्टेन्ट रेफ्रीले देखेपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

गोलरक्षक बाक्म्यानले डिपाएको प्रहार रोक्न सकेनन् ।

६७ औं मिनेटमा नेदरल्यान्ड्सले डम्फ्राइजको गोलमा अग्रता दोब्बर पार्यो । डनि डम्फ्राइजले दोस्रो गोल गरेका थिए ।

यो जीतसँगै नेदरल्याण्ड्सको २ खेलमा ६ अंक भएको छ ।

यो समूहका युक्रेन र अष्ट्रियाको ३–३ अंक छ भने नर्थ म्यासेडोनिया अंकविहिन छ । अब अन्तिम चरणमा युक्रेन र अष्ट्रिया तथा नेदरल्यान्ड्स र नर्थ म्यासेडोनिया भिड्नेछन् ।

बेल्जियम पनि दोस्रो चणमा

बिहिबार नै सम्पन्न अर्को खेलमा बेल्जियमले एक गोलले पछि परेको अवस्थालाई उल्टाउँदै समूह बी को खेलमा डेनमार्कलाई पराजित गर्न सफल भएको छ ।

दोस्रो हाफमा मैदान प्रवेश गरेका केभिन डे ब्रुएनको उत्कृष्ट प्रदर्शनमा बेल्जियमले डेनमार्कलाई २ १ m हराउँदै अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो ।

डेनमार्कले खेलको दोस्रो मिनेटमा नै अग्रता लिएको थियो ।

बेल्जियमको डिफेन्समा कमजोरीको फाइदा उठाउँदै युसुफ पाउल्सेनले पेनाल्टी क्षेत्रको ठिक भित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।

दोस्रो हाफमा मैदानमा प्रवेश गरेका मिडफिल्डर डे ब्रुएनले खेलको लय नै परिवर्तन गरे ।

डे ब्रुएनको पासमा थोर्गन हाजार्डले ५५ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए ।

७१ औं मिनेटमा डे ब्रुएनले उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाए ।

यो जीतपछि बेल्जियम समूह बीको २ खेलमा ६ अंक जोड्दै शीर्षस्थानमा पुगेको छ भने नकआउट चरणमा पनि स्थान पक्का गरेको छ ।

यो समूहका फिनल्यान्ड र रसियाको समान ३–३ अंक छ ।

डेनमार्क भने दुवै खेलमा पराजित हुँदै समूह चरणबाट नै बाहिरिने सम्भावना बढेको छ ।

प्रतिक्रिया