
यूरोकप फुटबलमा आज नेपाली समयअनुसार समूह सी अन्तर्गत ९ः४५ मा युक्रेन र अस्ट्रियाबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल बुकारेस्टस्थित रंगशालामा हुनेछ ।
दुबै टोलीले अहिलेसम्म ३–३ अंक जोडेका छन् । दुबै टोली समूहमा दोस्रो हुँदै अन्तिम चरणको यात्रा गर्न चाहन्छन् । दोस्रो हुनका लागि अस्ट्रियाले आजको खेल जित्नुपर्नेछ । खेल बराबरीमा भएमा राम्रो गोलअन्तरका आधारमा युक्रेन समूहमा दोस्रो हुनेछ ।
समूहमा तेस्रो स्थानमा रहने टोली पनि अन्तिम १६ मा पुग्ने संभावना भने कायम रहनेछ । ६ वटा समूहमा तेस्रो हुने कुल ६ वटा टोलीमध्ये उत्कृष्ट चारले तेस्रो चरणको यात्रा गर्छन् ।
यही, समयमा यस समूहको शीर्ष स्थानमा रहेको नेदरल्यान्डस्ले पुछारको टोली उत्तरी मेसिडोनियासँग प्रतिस्पर्धा गर्नेछ । समूह सीमा लगातार दुई खेल जितेको नेदरल्यान्डस् दोस्रो चरण प्रवेश गरिसकेको छ । त्यसैकारण, आजको खेलमा नेदरल्यान्डस्ले दबाबरहित भएर खेल्नेछ । १९८८ को उपाधि विजेता नेदरल्यान्डस् प्रतियोगिताका दाबेदार देशहरुमध्ये एक हो । उसले पहिलो खेलमा युक्रेनलाई ३–२ र दोस्रो खेलमा अस्ट्रियालाई २–० ले हराएको थियो । यता, युक्रेन र अस्ट्रियासँग पराजित भएको उत्तरी मेसिडोनिया अंकरहित छ र प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिइसकेको छ । त्यसैले अन्तिम खेलमा नेदरल्यान्डस्विरुद्ध राम्रो प्रदर्शन गरेर घर फर्कन चाहन्छ ।
प्रतिक्रिया