नेपालमा कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप लगाउनेको संख्या २५ लाख बढी रहेको छ । जसमा सात लाख ३१ हजारले मात्रै खोपको दोस्रो मात्रा पाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार करिब १४ लाख नागरिकले पहिलो डोज लगाएको तीन महिनाभन्दा बढी समय बित्दा पनि दोस्रो डोज पाउने टुंगो लागेको छैन ।
गत फागुन २३ गतेदेखि कोभिसिल्ड लगाउन सुरु भएको थियो । जेठ १५ गतेसम्म खोप लगाइसक्नुपर्ने भए पनि नेपालले खोप नपाएपछि उनीहरूले कहिले लगाउने भन्ने कुनै टुंगो छैन । सरकारले हरेक दिनजसो खोप आउने अश्वासन दिइरहेको हुन्छ । स्वास्थ्य मन्त्रालय पनि खोप कहिले आउँछ भन्ने विषयमा अन्योलमा देखिएको छ । खोपका विषयमा विभिन्न निकाय र देशका कम्पनीहरूसँग कुराकानी भइरहेको भए पनि कहिले आउँछ भन्ने कुरामा मन्त्रालयका अधिकारीहरू नै अलमलमा देखिएका छन् ।
मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार देशभरि २५ लाख १९६ जनाले खोपको पहिलो डोज लगाएका छन् । जसमा दोस्रो डोज लगाउनेको संख्या सात लाख ३१ हजार ६५३ मात्रै रहेको छ । नेपाल सरकारले भारतको सेरम इन्सिच्युटबाट खरिदका लागि अग्रिम भूक्तानी दिँदा पनि खोप आउन सकेको छैन । सरकारले अनुदानमा पाएको १० लाख डोज र त्यसपछि खरिदबापत आएको १० लाख डोज वितरण भइसकेको छ । मन्त्रालयका अधिकारीहरूका अनुसार सो खोप देशका विभिन्न जिल्लामा पठाइसकिएको तर अझै १३ लाख ९० हजार नागरिक यस्ता छन्, जो भारतबाट आएको कोभिसिल्ड खोपको पहिलो खोप लगाएर दोस्रो डोजको प्रतीक्षा गरिरहेका छन् । उनीहरूले खोप लगाएको तीन महिनाभन्दा बढी समय बिते पनि दोस्रो डोज कहिले पाउने भन्ने टुंगो छैन । मन्त्रालयका प्रवक्ता पौडेल पहिलो डोज लगाएको १६ हप्ताभित्र दोस्रो डोज दिन सकिने विषयमा तयारी भए पनि तत्काल केही भन्न नसकिने बताउनुहुन्छ ।
खोपका लागि बजेट करिब २७ अर्ब तर अनुदानकै भर !
सरकारले खोप खरिदका लागि भन्दै ठूलो रकम छुट्याएको छ । खोप खरिदका लागि २६ अर्ब ७५ करोड रुपैयाँ विनियोजन भइसकेको अवस्था भए पनि अहिलेसम्म अनुदानको भरमा सरकार चलेको छ । भारतले १० लाख डोज खोप दिएको छ । नेपाली सेनालाई थप एक लाख डोज खोप भारतले उपलब्ध गराएको छ । यस्तै, चीनले १८ लाख डोज भेरोसेल र कोभ्याक्स फ्यासिलिटीबाट तीन लाख ४८ कोभिसिल्ड खोप अनुदानमा आएको छ । नेपालले जम्मा १० लाख डोज मात्रै खोप खरिद गरेको छ । दुई करोड १७ लाख नागरिकलाई खोप लगाउनुपर्ने स्वास्थ्य सेवा विभाग खोप महाशाखाको तथ्यांक छ । तर, हालसम्म भेरोसेल र कोभिसिल्ड गरी जम्मा ४२ लाख ४८ हजार खोप नेपाल भित्रिएको छ । जसमा कोभिसिल्ड खोपको पहिलो मात्रा पाएका लाखौँ नागरिकले दोस्रो मात्रा पाउन सकेका छैनन् ।
सरकारले चीनबाट थप ४० लाख डोज खोप किन्ने तयारी गरेको समाचारहरू सार्वजनिक भए पनि अहिले अवस्था सुनसान देखिएको छ । चीनले खोप खरिद सम्बन्धमा ‘ननडिस्क्लोजर एग्रिमेन्ट’ को शर्त राखेका कारण समस्या भइरहेको सरकारी अधिकारीहरू बताउँछन् । तर, पछिल्लो केही दिनयता सरकारी पक्ष उक्त शर्त पालना गर्दै खोप ल्याउने तयारीमा रहेको समाचार पनि सार्वजनिक भएका थिए । चीनले राखेका शर्त फलो नभएको र सहमतिविपरीत सूचना सार्वजनिक भए पनि चिनियाँ पक्ष असन्तुष्ट रहेको मन्त्रालयका अधिकारीहरू बताउँछन् । खोप खरिदका विषयमा चीनले राखेको ननडिस्क्लोजर एग्रिमेन्टको शर्तका विषयमा स्वास्थ्य मन्त्रालय तथा सरकार मौन बस्नुपर्ने हुन्छ । तर, राजनीतिक दलका नेताहरूले खोपका विषयमा आधिकारिक तथ्य नबुझी बोलिदिँदा समस्या हुनेमा स्वास्थ्य मन्त्रालयका अधिकारीहरू बताउँछन् ।
यस्तै, कोभ्याक्सले नेपाललाई तीन लाख ४८ हजार अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप उपलब्ध गराउने भने पनि कहिले आउँछ भन्ने टुंगो लागेको छैन । यसअघि पनि कोभ्याक्सले तीन लाख ४८ हजार खोप दिएको थियो । अहिले सोही खोप लगाएका र दोस्रो डोज लगाउन बाँकी रहेकाहरूका लागि थप डोज खोप दिने तयारी भएको मन्त्रालय स्रोतको भनाइ छ ।
यस्तै, अमेरिकाको जोनसन एण्ड जोनसनको खोप ६ लाख डोज उपलब्ध गराउने बताए पनि मिति भने टुंगो लागेको छैन । मन्त्रालयका अनुसार नेपालले २०२१ भित्रै लक्षित जनसंख्यालाई खोप दिन सम्भव देखिँदैन । किनकि खोपका लागि अग्रिम बुकिङ गर्ने, वैकल्पिक स्रोत खोज्नेबारेमा सरकारले बेवास्ता गरेको छ ।
सेरमले खोप नदिए के गर्ने ?
कोभिसिल्ड खोप दिन आनाकानी गरिरहेको भारतीय कम्पनी सेरमले खरिद सम्झौताअनुसार तत्काल खोप नदिए अन्य विकल्प के हुन सक्छन् भन्ने विषयमा अहिले मन्त्रालयका अधिकारीहरू छलफलमा रहेका छन् । भारतबाट खोप आउने सम्भावना तत्काल नभएकाले अन्य देशले उत्पादन गरेको खोपको सम्भाव्यताका विषयमा छलफल भइरहेको मन्त्रालयका अधिकारीहरूको भनाइ छ ।
भारतले सन् २०२१ को अन्तिमसम्म दिन नसकिने बताएको छ । मन्त्रालयका प्रवक्ता पौडेल भारतले खोप नदिनुका कारणहरू भारतमा माग बढ्नु र भारतीय अदालतले गरेको निर्णयसमेत भएको बताउनुहुन्छ । उहाँले हिमालय टाइम्ससँग भन्नुभयो, ‘अहिले भारतबाट खोप आउने सम्भावना कम भएकाले एस्ट्राजेनेका अक्सफोर्डले बनाएको खोप लगाउने विषयमा छलफल भइरहेको छ ।’ तर, तत्काल हप्ता १० दिनभित्रमा कुनै पनि अवस्थामा नेपालमा खोप आउने सम्भावना नरहेको उहाँले बताउनुभयो । चाँडोभन्दा चाँडो खोप आएको भए हुन्थ्यो भन्ने सबैको चाहना भए पनि त्यो सम्भावना तत्काल नदेखिएको उहाँले बताउनुभयो ।
खोपको पहिलो डोज मात्रै लगाएका व्यक्तिमा पनि प्रभाव राम्रो देखिएको मृत्युदर विगतभन्दा कम रहेको पनि उहाँले बताउनुभयो । ‘पहिलो डोज नै राम्रो प्रभाव परेको छ । दोस्रो डोज पनि भयो भने मृत्युदर ह्वात्तै घट्छ’, उहाँले भन्नुभयो ।
‘खोप लुकाइएको छैन, जिल्लाहरूले स्टकबाट लगाएका हुन्’
बुधबार ललितपुर जिल्लाभित्रका ज्येष्ठ नागरिकहरूलाई कोभिडविरुद्धको खोपको दोस्रो डोज लगाइए पनि केही आलोचना भएको थियो । पहिलो डोज पाएको तीन महिनासम्म खोप नदिने अहिले कहाँबाट आयो खोप भन्दै सर्वसाधारणहरूले आलोचना गरेका थिए । तर, सरकारी अधिकारीहरूले जिल्लाहरूमा पहिले नै वितरण भएको खोप स्टक रहेकाले अहिले सोहीअनुसार लगाइरहेको बताउँछन् । प्रवक्ता पौडेलले धेरै जिल्लाहरूमा यसअघि नै दिएको खोपको मात्रा बाँकी रहेकाले सोहीअनुसार प्राथमिकताका आधारमा दोस्रो डोज वितरण भइरहेको बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, ‘यसअघि नै जिल्लामा पुगेको खोप रहेको अवस्था हुन सक्छ । कुनै जिल्लामा एक हजार, कुनै जिल्लामा ५०० कुनै मा कति होला । अहिले खोप लगाउन बाँकी व्यक्तिहरू धेरै छन् । जिल्लाहरूले बाँकी रहेको मध्ये प्राथमिकताका आधारमा लगाइरहेको छ । ललितपुरको हकमा पनि त्यही हो । जिल्लाहरू स्टकका आधारमा प्राथमिकता दिएर गरिरहेका हुन् । पहिले बाँकी भएको खोप आफ्नो प्राथमिकताअनुसार गर्न सक्छन् ।’
कोभिसिल्ड लगाएका व्यक्तिले भेरोसेल लगाउँदा प्रभावकारी हुन्न
नेपालस्थित विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरसविरुद्धको पहिलो मात्रा ‘एस्ट्राजेनेका (कोभिसिल्ड)’ खोप लगाएका व्यक्तिले दोस्रो मात्रा ‘भेरोसेल’ खोप लगाउँदा अझै बढी प्रभावकारी हुन्छ भन्ने आधार पुष्टि नभएको बताएको छ ।
एक विज्ञप्ति जारी गर्दै डब्लुएचओले पहिलो मात्रा कोभिसिल्ड लगाएका व्यक्तिले दोस्रो मात्रा भेरोसेल लगाउँदा गम्भीर स्वास्थ्य समस्या निम्तिन सक्ने पनि बताएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘पहिलो मात्रा ‘एस्ट्राजेनेका (कोभिसिल्ड)’ खोप लगाएका व्यक्तिले दोस्रो मात्रा ‘भेरोसेल’ खोप लगाउँदा अझै बढी प्रभावकारी हुन्छ भन्ने गलत समाचारप्रति डब्लुएचओ ध्यानआकर्षण गराउन चाहन्छ । डब्लुएचओले यस किसिमको कुनै पनि बयान जारी गरेको छैन र यो झुटो आरोप हो । यस किसिमका गलत सूचनाले जनताको स्वास्थ्यमा गम्भीर परिणाम निम्त्याउन सक्छ ।’
संगठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस किसिमको गलत सूचनाले जनताको स्वास्थ्यमा गम्भीर परिणाम निम्त्याउन सक्छ । दुई भिन्न किसिमका खोप लगाउँदाको प्रभावकारिताका बारेमा सीमित तथ्यांकहरू मात्र उपलब्ध छन् ।’
भिन्न किसिमका खोपको प्रयोग र प्रभावकारिताका विषयमा अध्ययनहरू भइरहेका छन् र कोभिसिल्ड) खोपको साटो दोस्रो मात्रामा भेरोसेल खोप लगाउन मिल्छ भन्ने निष्कर्ष पुग्नका लागि पर्याप्त वैज्ञानिक प्रमाण आवश्यक भएको संगठनले जनाएको छ ।
प्रतिक्रिया