Pura Samachar

रेल सेवा असारबाटै सुरु गरिने

प्रकाशित: June 27, 2021

रेल सेवा असारबाटै सुरु गरिने

काठमाडौँ । जनकपुर–जयनगर जोड्ने रेल सेवा सञ्चालनका लागि जनशक्ति र प्रविधि उपलब्ध गराउन नेपाल रेलवे कम्पनी र भारतीय कम्पनी कोन्कणबीच सेवा सम्झौता (सर्भिस कन्ट्याक्ट) भएको छ । असारभित्र नै जनकपुर–जयनगर रेल सेवा सञ्चालन गर्ने गरी सझौता भएको हो ।

गृहकार्य स्वरूप भारत सरकारको मातहतमा रहेको भारतीय रेलवे कम्पनी कोन्कणबीच सम्झौता भएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले बताउनु भयो । सो रेल सेवा असारभित्रमा नै सञ्चालनमा ल्याउने गरी तयारी सुरु गरिएको बताउँदै उहाँले रेल सञ्चालनका लागि अहिले जनशक्ति नेपालमा उपलब्ध हुन नसकेकोले रेल चालक (लोको पाइलट)सहित २६ जना जनशक्ति उपलब्ध गराउन भारतीय कम्पनीसँग सम्झौता गरिएको बताउनुभयो ।

सम्झौताअनुसारको भारतीय जनशक्ति नेपाल आई जनकपुरमा नेपाली रेलवे कर्मचारीहरूलाई तालिम दिइरहेको छ । जनकपुर–जयनगर रेल सेवा सञ्चालन गर्न आवश्यक जनशक्ति, प्रविधि र उपकरण उपलब्ध गराउने, मेसिन, ट्र्याक मर्मतलगायतका काम गर्ने तथा नेपाली रेलवे कर्मचारीलाई तालिम दिनका लागि नेपाल रेलवे कम्पनी र कोन्कणबीच एक वर्षका लागि सर्भिस कन्ट्याक्ट भएको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिनुभयो ।

सम्झौताअनुसार भारतीय कर्मचारीको तलब–भत्ता, दुवै रेलको सर्भिसिङ र मर्मत, रेलवे ट्र्याकको मर्मत, नेपाली कर्मचारीलाई प्रशिक्षण भारतीय पक्षले दिने छन् । त्यसैगरी रेल सञ्चालनका लागि सुरुको एक महिनाको डिजेल भारतीय पक्षले नै दिने र त्यसपछि नेपाल रेल कम्पनीले आफैँ खरिद गर्ने छ ।

सो सेवा उपलब्ध गराएबापत नेपालले भारतीय कम्पनीलाई ३५ करोड १२ लाख रुपियाँ उपलब्ध गराउने छ । नेपाली प्राविधिकले रेल सञ्चालनसम्बन्धी सीप सिकिसकेपछि नेपाल रेलवे कम्पनीको खर्च घट्ने छ र नेपालमा नै जनशक्ति उत्पादन सुरु हुने छ । अहिले जनकपुरमा ७५ जना नेपाली प्राविधिकलाई भारतीयले तालिम दिइरहेका छन्

प्रतिक्रिया