काठमाडौं । प्रहरीले बीबीसीको ‘टप १०० प्रभाशाली महिला’को सूचीमा परेकी सपना रोका मगरसहित १७ जना अभियन्तालाई पक्राउ गरेको छ ।
अनामनगरको पूर्वी गेट अगाडिको सार्वजनिक जग्गा कब्जा गरेको उजुरीपछि सपनासहित ‘हाम्रो टिम नेपाल’का अभियन्ताहरूलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उक्त जग्गा अहिले खाली गराएर सपनासहित १७ जना अभियन्तालाई पनि रिहा गरेको छ ।
हाम्रो टिम नेपालले सार्वजनिक जग्गा कब्जा गरी काठमाडौं महानगरपालिकासँग समेत समन्वय नगरी टहरा बनाएको स्थानीयको आरोप छ । अभियन्ताहरू पक्राउपछि काठमाडौं महानगरपालिकाले टहरा हटाइदिएको छ ।
काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले करीब एक वर्षदेखि ‘हाम्रो टिम नेपाल’ ले त्यहाँ टहरा बनाएर सार्वजनिक जग्गा अतिक्रमण गरिरहेको स्थानीयको गुनासोपछि बल प्रयोग गर्नुपरेको बताउनुभयो ।
स्थानीयको माग अनुसार उक्त जग्गमा रियाली पार्क निर्माण गर्नका लागि नक्सा र डिजाइन समेत तयारी अवस्थामा रहेको उहाँले बताउनुभयो । काम अघि बढाउन हाम्रो टिम नेपाललाई पटक पटक त्यहाँका संरचना हटाउन आग्रह गर्दा पनि अटेर गरेपछि हटाइएको काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख एसपी धनपती सापकोटाले बताउनुभयो ।
प्रतिक्रिया