एजेन्सी – यूरो कप २०२० अन्तर्गत सोमबार राति खेलिएका दुई रोमाञ्चक खेलबाट स्पेन र स्विट्जरल्यान्ड ले क्वार्टरफाइनलका आफ्नो स्थान सुरक्षित बनाएका छन् ।
सोमबार राति खेलिएको पहिलो खेलमा स्पेनले क्रोएसियालाई ५-३ अन्तरले हरायो भने दोस्रो खेलको ट्राई ब्रेकर मा स्विट्जरल्यान्डले फ्रान्सलाई स्तब्ध पार्यो ।
पेनाल्टीमा एम्बाप्पे चुक्दा बाहिरियो फ्रान्स
यूरो कप २०२० को उपाधि दावेदारको रूपमा रहेको फ्रान्स स्वीट्जरल्यान्ड सँगको अति नै रोमाञ्चक खेलमा स्तब्ध भएको छ ।
पेनाल्टी सुटआउटमा फ्रान्सलाई हराउँदै स्वीट्जरल्यान्ड यूरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ ।
मंगलबार बिहान सम्पन्न अन्तिम १६ को खेलमा स्वीट्जरल्यान्डले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५-४ गोलले पराजित गर्दै क्वाटरफाइनलमा स्धान सुरक्षित गरेको हो ।
खेलको निर्धारित ९० मिनेट तथा अतिरिक्त समय ३-३ गोलको बराबरीमा सकिएपछि यो खेल पेनाल्टी सुटआउटमा प्रवेश गरेको थियो ।
पेनाल्टीमा फ्रान्सका केलियन एम्बाप्पेले गोल गर्न नस्कदा स्वीट्जरल्यान्डले जित हात पार्यो ।
पेनाल्टीमा फ्रान्सका पाउल पोग्बा, ओलिभर जिराउड, मार्कुस थुराम, प्रेसनल किम्पेम्बेले गोल गरे पनि एम्बाप्पेले गाेल गर्न सकेनन् ।
स्वीट्जरल्यान्डका पाँचै जना खेलाडीहरू मारियो गाभ्रानोभिच, फाबियन, अकान्जी म्यानुएल, रुबेन भेर्गास, एडमिर मेहमेदी पेनाल्टीमा गोल गर्न सफल भए ।
यसअघि निर्धारित ९० मिनेटमा स्वीट्जरल्याण्डका सेफेरोभिचले दुई तथा गाभ्रनोभिचले एक गोल गरेका थिए भने फ्रान्सका करिम बेन्जिमाले दुई तथा पल पोग्बाले एक गोल गरेर खेललाई ३-३ को अवस्थामा पुर्याएका थिए ।
त्यसपछि खेल अतिरिक्त समयमा गएको थियो, जसमा गोल हुन नसक्दा खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो ।
क्रोएसियालाई हराउँदै स्पेन क्वाटरफाइनलमा
त्यसअघि सोमबार राति खेलिएको पहिलो खेलमा
क्रोएसियालाई ५-३ गोलले पराजित गर्दै स्पेन यूरो कप- २०२० को क्वाटरफाइनलमा पुग्न सफल भएको छ ।
निर्धारित ९० मिनेटको खेल ३-३ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।
अतिरिक्त समयको ३० मिनेटको खेलमा स्पेनका अल्भारो मोराटा र मिकेल ओयारजाबलले एक-एक गोल गर्दै आफ्नो टिमको जीत सुनिश्चित बनाए ।
मोराटाले एक सय मिनेटमा तथा ओयारजाबलले एक सय ३ औँ मिनेटमा गोल गर्न सफल भए ।
दुवै गोलमा डानी ओल्मोले सुन्दर क्रसमार्फत पास उपलब्ध गराएका थिए ।
अतिरिक्त समयमा गोल गर्ने ओयारजाबल खेलको ८८ औं मिनेटमा तथा र ओल्मो ७१ औँ मिनेटमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका थिए।
खेल अतिरिक्त समय जानुअघि अन्तिम समयमा २ गोल गर्दै क्रोएसियाले निर्धारित ९० मिनेटमा खेललाई बराबरीमा ल्याएको थियो ।
खेलमा ३-१ गोलले पछाडि रहेको अवस्थामा क्रोएसियाका मिस्लाभ अर्सिचले ८५ औं तथा मारियो पसालिचले इन्जुरी समयको दोस्रो मिनेटमा गोल गर्दै खेललाई अतिरिक्त समयमा धकेलेका थिए ।
क्रोएसियाका अर्सिच ६७ र पसालिच ७९ औँ मिनेटमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका थिए ।
त्यसअघि क्रोएसियाले आत्मघाती गोलमार्फत अग्रता लिएपनि स्पेनले त्यसपछि लगातार तीन गोल गरेको थियो ।
स्पेनका पेड्रीले दिएको ब्याक पास स्पेनका गोलरक्षकले नियन्त्रणमा लिन नसक्दा खेलको २० औं मिनेटमा आत्मघाती गोल भएको थियो ।
खेलको प्रारम्भदेखि नै आक्रामक खेल पस्केको स्पेनले ३८ औँ मिनेटमा खेललाई बराबरी गर्यो ।
पाउलो सराबियाले हेडमार्फत गोल गरेका थिए ।
दोस्रो हाफको प्रारम्भ मै स्पेनका सिजर एज्पुलिकुएटाले गोल गर्दै खेललाई २-१ ले स्थितिमा पुर्याए ।
स्पेनका फेरान टोरेसले ७७ औँ मिनेटमा गोल गर्दै खेललाई ३-१ को स्थितिमा पुर्याएका थिए ।
यद्यपि, ९० मिनेटको अन्त्य तथा इन्जुरी समयमा क्रोएसियाले २ गोल फर्काउँदै खेललाई ३-३ को अवस्थामा ल्याएका थिए
प्रतिक्रिया