Pura Samachar

बेल्जियमलाई पराजित गर्दै इटाली सेमिफाइनलमा

प्रकाशित: July 3, 2021

बेल्जियमलाई पराजित गर्दै इटाली सेमिफाइनलमा

इटाली युरो २०२० को सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार विहान सम्पन्न क्वार्टरफाइनलको खेलमा बेल्जियमलाई २-१ गोलले पराजित गर्दै इटाली अन्तिम चारमा पुगेको हो।

अब फाइनल प्रवेशका लागि इटालीले आगामी मंगलबार स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। यसअघि स्पेनले स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो।

बेल्जियमविरुद्ध भएको खेलमा इटालीले पहिले अग्रता लिएको थियो। खेलको ३१ मिनेटमा निकोलो बरेलाले गोल गर्दै इटालीलाई अग्रता दिलाए।

भेराटीले दिएको पासमा मिडफिल्डर बरेलाले बललाई गोलपोस्टको दिशा दिएका थिए।

खेलको ४४ मिनेटमा इटालीले अग्रता दोब्बर पारे। लोरेन्जो इनसाइनले इटालीका लागि दोस्रो गोल गरे। उनले उत्कृष्ट फिनिसिङ गर्दा बेल्जिमयका गोलकिपरले रोक्ने कुनै मौका नै पाएनन्।

त्यसअघि इटालीका चिएसा र इमोबिलले गोल गर्ने अवसर गुमाएका थिए।

पहिलो हाफको इन्जुरी टाइममा बेल्जियमले गोल फर्कायो। पेनाल्टीमा लुकाकुले गोल गर्दा खेल २-१ को अवस्थामा आयो।

डि लोरेन्जोले बेल्जियमका डोकुलाई तानेपछि भिएआरमार्फत पेनाल्टी दिइएको थियो।

प्रतिक्रिया