Pura Samachar

इङग्ल्याण्ड पहिलो पटक युरो कपको फाइनलमा

प्रकाशित: July 8, 2021

इङग्ल्याण्ड पहिलो पटक युरो कपको फाइनलमा

यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न सेमिफाइनल खेलमा डेनमार्कलाई हराउँदै इङ्ग्ल्याण्ड फाइनलमा प्रवेश गरेको छ। लण्डनस्थित वेम्बली स्टेडियममा सम्पन्न खेलमा डेनमार्कमाथि २-१ अन्तरले पुनरागमन जित निकाल्दै इङ्ग्ल्याण्डले फाइनलमा स्थान सुरक्षित गरेको हो।

स्टेडियममा ६० हजार दर्शक उपस्थित खेलको ३० औं मिनेटमा मिक्केल ड्याम्सगर्डको उत्कृष्ट फ्रिकिक गोलमा डेनमार्कले अग्रता बनाउँदै घरेलु दर्शकलाई स्तब्ध बनाएको थियो। तर, ३९ औं मिनेटमा डेनमार्कका कप्तान सिमोन कजायर आत्मघाती गोल गर्न पुगे। र, पहिलो हाफमा खेल १-१ को बराबरीमा रोकियो। त्यस्तै दोस्रो हाफमा दुबै टिमले गोल थप्न नसक्दा खेल अतिरिक्त समयमा टाँगियो। जसमा इङ्ग्ल्याण्डको ऐतिहासिक जितका लागि ह्यारी केनले निर्णायक गोल गरे। उनले खेलको १०४ औं मिनेटमा पेनाल्टी पछि रिबाउण्डमा आएको बलमा गोल गर्दै इङ्ग्ल्याण्डलाई अग्रता दिलाएका थिए। जुन इङ्ग्ल्याण्डको जितमा निर्णायक बन्न पुग्यो।

यो सँगै इङ्ग्याण्ड पहिलो पटक युरो कपको फाइनलमा प्रवेश गरेको छ भने सन् १९६६ यता मुख्य प्रतियोगिता (युरो कप/ विश्वकप) को फाइनलमा प्रवेश गरेको छ।

फाइनलमा इङ्ग्ल्याण्डले इटलीको सामना गर्नेछ। यसअघिको सेमिफाइनल खेलमा इटलीले स्पेनलाई हराउँदै फाइनलको यात्रा तय गरेको थियो।

प्रतिक्रिया