Pura Samachar

युभेन्टसको फराकिलो जित

प्रकाशित: June 27, 2020

युभेन्टसको फराकिलो जित

काठमाडौं। इटालियन सिरी ए फुटबलमा युभेन्टसले फराकिलो जित निकालेको छ । घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा युभेन्टसले लेच्चेमाथी ४-० गोलको फराकिलो जित निकालेको हो ।

युभेन्टसलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले एक गोल र दुई असिस्ट गरेका थिए । त्यस्तै पाउलो डिबाला, गोन्जालो हिगुइन र म्याथिस डि लिग्टले एक एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा लेच्छे १० खेलाडीमा समेटिएको थियो । खेलको ३१ औं मिनेटमा फाबियो लुचिओनिले गम्भीर ट्याकल गरेपछि रातो कार्ड खाँदै मैदानबाट बाहिरिँदा पाहुना टोली लेच्चे १० खेलाडीमा समेटिएको हो । जसको फाइदा युभेन्टसले दोस्रो हाफमा उठायो ।

खेलको ५३ औं मिनेटमा डिबालाले गोल गर्दै घरेलु टोलिलाई अग्रता दिलाए । उनले रोनाल्डोको पासमा गोल गरेका हुन् । त्यस्तै ६२ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युभेन्टसको अग्रता दोब्बर पारे ।

८३ औं मिनेटमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका हिगुइनले गोल गर्दै युभेन्टसलाई ३(० को अग्रता दिलाए । उनले रोनाल्डोको पासमा गोल गरेका हुन् । खेल सकिन पाँच मिनेट बाँकी रहँदा डि लिग्टले गोल गरेपछि युभेन्टस ४-० गोलको फराकिलो जित निकालेको हो ।

जितसँगै युभेन्टसले शीर्ष स्थानमा दोस्रो स्थानको लाजियोभन्दा सात अंकको अग्रता बनाएको छ । युभेन्टसले २८ खेलबाट ६९ अंक जोड्दा दोस्रो स्थानमा रहेको लाजियोले एक खेल कम खेल्दै ६२ अंक जोडेको छ । यता पराजित लेच्चे भने २५ अंकसहित १८ औं स्थानमा छ ।

प्रतिक्रिया