Pura Samachar

बिल गेट्स भन्छन्- कोभिड -१९ विरुद्धको लडाईँ जित्न अमेरिकाको प्रयास पर्याप्त छैन

प्रकाशित: June 29, 2020

बिल गेट्स भन्छन्- कोभिड -१९ विरुद्धको लडाईँ जित्न अमेरिकाको प्रयास पर्याप्त छैन

एजेन्सी । माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्सले अमेरिका र विश्वव्यापी रुपमा कोभिड–१९ को अवस्था आफूले सोचेभन्दा धेरै कमजोर रहेको बताएका छन् ।

संचार माध्यम सीएनएनसँग बिहीबार कुराकानी गर्दै उनले अमेरिकामा अझै पनि कोरोनाका कारण मृत्यु भइरहनुले महामारी विरुद्ध लड्न अमेरिकाले गरेको प्रयास पर्याप्त नभएको बताएका हुन् ।

उनले भने, “नयाँ प्याथोजेनको परीक्षण प्रक्रियालाई अत्यन्त तिव्र बनाउन असम्भव छैन । किनकी केही देशहरुले एकदमै प्रभावकारी ढङ्गमा त्यसो गर्न सफल भइसकेका छन् । ती देशको प्रविधिमा सुधार आउँदै गएको छ । तर अमेरिकासँग भने नेतृत्वकर्ताको कुनै सन्देश छैन र अपेक्षित प्रभावकारिता पनि कतै देखिँदैन ।

आठ हप्ता अगाडि बिल गेट्सले सीएनएनको टाउन हलमा अतिथिका रुपमा उपस्थिति जनाएका थिए । त्योबेला अमेरिकामा ६३ हजारको मृत्यु भइसकेको थियो भने कोरोना संक्रमितको सङ्ख्या १० लाख रहेको थियो । आजको दिनमा त्यो तथ्याङ्क दुई गुणाले बढेको छ जहाँ बिरामीको सङ्ख्या २४ लाख नागेको छ भने १ लाख २२ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।

संक्रमित बढ्नुमा परीक्षण र कन्ट्याक्ट ट्रेसिङको अभाव जिम्मेवार रहेको र  मास्क लगाउने प्रवृत्ति नभएकाले पनि यो अवस्था आइलागेको उनले बताए । उनका अनुसार यिनै कुरा प्रभावकारी रुपमा अपनाउन सकेका देशहरुले संक्रमण सङ्ख्या न्यूनीकरण गरेर देखाइसकेका छन् ।

अमेरिकामा अझै केही स्टेटमा बिरामीहरु बढ्ने क्रम जारी छ । गेट्स भन्छन्, “ अहिले अमेरिकामा मानिसहरुका भिन्नभिन्न व्यवहार देख्न पाइएको छ जहाँ कोही अत्यन्तै रुढिवादी भएर सोचिरहेका छन् भने महामारीलाई बेवास्ता गर्नेको सङ्ख्या पनि एकदम ठूलो छ । अझै पनि कतिले यसलाई राजनीतिक ठानिरहेका छन् जुन दुरभाग्यको कुरा हो ।” उनले अमेरिकाबाट आफूले त्यस्तो अपेक्षा नगरेको बताए । उनले थप भनेका छन् , “यसअघि नर्थ डकोटाका गभर्नर, मेरा एकजना साथीले मास्क लगाउने व्यक्तिप्रति दुव्र्यवहार नगर्न सबैलाई बिन्ती गर्नुपर्यो, यस्ता कुराले मलाई वास्तवमै आश्चर्यमा पारेको छ ।”

गेट्सले परीक्षणको दायरा बढाएकाले नै संक्रमित थपिएको भन्ने ह्वाइटहाउसको भनाइलाई पनि पूर्ण रुपमा गलत बताएका छन् । उनका अनुसार विश्व महामारीलाई हराउनमा अमेरिकी नेतृत्वको अभावले विकासोन्मुख मुलुकहरु जस्तै ब्राजिल र भारतलाई रोगको भार बोकाएको छ जसको क्षति अकल्पनीय हुन सक्छ । तर अझै पनि आफू अमेरिकाले उचित कदम अघि बढाइ, दुनियाँलाई कोरोनाको खोप दिन सक्नेमा आशावादी रहेको बताएका छन् । – सीएनएन

प्रतिक्रिया