Pura Samachar

चेल्सीमाथि वेस्ट ह्यामको बहुमूल्य जित

प्रकाशित: July 2, 2020

चेल्सीमाथि वेस्ट ह्यामको बहुमूल्य जित

लन्डन — सब्स्टिच्युट आन्द्रेयी यारमोलेन्कोले वेस्ट ह्यामका लागि खेल्ने विरलै मौका सदुपयोग गर्दै खेलको अन्त्यतिर नाटकीय गोल गरेपछि वेस्ट ह्यामले चेल्सीलाई बुधबार ३–२ ले हराएको छ ।

युक्रेनी खेलाडी यारमोलेन्कोले ६ महिनापछि खेलिरहेका थिए र उनलाई ७८ औं मिनेटमा मैदानमा प्रवेशको अवसर प्राप्त भएको थियो । त्यति बेला इंग्लिस प्रिमियर लिगको यो डर्बी खेल २–२ को तनावपूर्ण बराबरीमा चलिरहेको थियो ।

जितका लागि चेल्सीले आक्रामक खेल खेलिरहेको बेला वेस्ट ह्यामले ‘काउन्टर एट्याकमा’ यो जित निकालेको हो । खेल हेर्न लन्डन स्टेडियममा कोही पनि वेस्ट ह्याम समर्थक थिएनन् ।

 

तर यो जित कति महत्त्वको थियो भने वेस्ट ह्याम खेलाडीले असाध्यै खुसीयाली मनाएका थिए । लगातार तीन हारमा बिनागोलको खेलपछि यो वेस्ट ह्यामको पहिलो सफलता हो । अब वेस्ट ह्यामको ३० अंक भएको छ र रेलिगेसन क्षेत्रबाट तीन अंक माथि रह्यो ।

बुधबारकै अन्य खेलमा न्युकासलले बर्नमाउथलाई ४–१ र आर्सनलले नर्विचलाई ४–० ले हरायो । यस्तै तेस्रो स्थानमा रहेको लेस्टरको खराब प्रदर्शन कायम रह्यो र एभरटनको हातबाट २–१ ले पराजित रह्यो ।

प्रतिक्रिया