Pura Samachar

अफगानिस्तान तालिवानको पूर्ण कब्जामा

प्रकाशित: August 16, 2021

अफगानिस्तान तालिवानको पूर्ण कब्जामा

काठमाडौं । पास्तुनहरूको बाहुल्य भएको पाकिस्तान र अफगानिस्तानका क्षेत्रमा शान्तिसुरक्षा स्थापनाका लागि सरिया कानुन कार्यान्वयन गर्नुपर्ने भन्दै अभियान सुरु गरेको तालिवान कठोर शासकका रूपमा परिचित छ । यसअघिको शासनकालमा तालिवानले निकै कडा सजाय दिने गरेकाले अन्तर्राष्ट्रिय रूपमा तालिवानको निकै आलोचना भएको थियो ।

तालिवान शासनकालमा हत्यारा र यौन व्यभिचारीलाई सार्वजनिक स्थानमा मृत्युदण्ड दिने तथा चोरी गर्नेको हात काटिदिने सजाय दिइन्थ्यो । १० वर्षभन्दा माथिका बालिकालाई विद्यालय जान रोक लगाइन्थ्यो । पुरुषले अनिवार्य रूपमा दाह्री पाल्नुपर्ने तथा महिलाले सम्पूर्ण शरीर बुर्काले छोप्नुपर्ने नियम ल्याइएको थियो । टेलिभिजन, चलचित्र र संगीतमाथि प्रतिबन्ध लगाइएको थियो ।

दुई दशकपछि सत्तामा फर्कन लागेको तालिवानले पहिलेको तुलनामा केही खुकुलो शासन व्यवस्था सञ्चालन गर्ने संकेत दिएको छ । तालिवान प्रवक्ता सहिनले महिला अधिकारको सम्मान गर्ने तथा विश्व परिवेशअनुसार शासन गर्न आफूहरू तयार रहेको बताएका छन् । ‘तालिवानले महिलाका साथै सञ्चारकर्मी र कूटनीतिज्ञको अधिकारको संरक्षण गर्छ,’ उनले भने ।

कान्तिपुर दैनिकमा प्रकाशित समाचार अनुसार विश्लेषकहरूले यसलाई आफ्नो सरकारप्रति अन्तर्राष्ट्रिय समर्थन जुटाउने तालिवानको रणनीति भएको बताएका छन् । यसअघि अमेरिका, चीन, बेलायत, क्यानडा तथा युरोपेली संघले हिंसात्मक माध्यमबाट सत्ताकब्जा गरेको खण्डमा तालिवानलाई आफूहरूले समर्थन नगर्ने चेतावनी दिएका थिए ।

प्रतिक्रिया